पार्टी र सरकारबीच कुनै मतभेद छैन : रवि लामिछाने


हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकार (मन्त्रिपरिषद्)बीच कुनै पनि किसिमको मतभेद, विवाद वा खटपट नरहेको बताएका छन् ।

बिहीबार चितवन पुगेर पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले पार्टी र सरकारबीच निरन्तर संवाद तथा सहकार्य भइरहेको र समन्वयको कुनै कमी नरहेको स्पष्ट पारे ।

पुराना राजनीतिक दलहरूले अभ्यास गर्दै आएको सरकार नियन्त्रण गर्ने वा सरकारको कामकारबाहीमा हस्तक्षेप गर्ने शैली रास्वपाले नअपनाएको उनको भनाइ थियो । पार्टी र सरकारको कार्यक्षेत्र फरक–फरक रहेको उल्लेख गर्दै उनले दुवैले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए ।

पार्टी र मन्त्रीहरूबीच कामकारबाहीका विषयमा कुनै प्रश्न वा जिज्ञासा उठे नियमित छलफल र संवादमार्फत स्पष्टता खोज्ने गरिएको उनले जानकारी दिए । बाहिर चर्चा भएजस्तो पार्टी र सरकारबीच कुनै खटपट नरहेको उनको दाबी थियो ।

‘हामी राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौँ, जहाँ सरकार टिकाउन वा पार्टी मिलाउन मन्त्रीको छेउमा अर्को मान्छे कुर्सी राखेर बस्नुपरोस् । सरकारले आफ्नो पूर्ण (एब्सोल्युट) काम गर्छ र पार्टीले आफ्नो काम गर्छ,’ उनले भने, ‘हाम्रो नियमित भेटघाट र संवाद भइरहन्छ । समन्वयको कुनै कमी छैन । सरकारलाई पूर्ण रूपमा काम गर्न दिनुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा हो ।’

सञ्चारगृह तथा पत्रकारमाथि भएका पछिल्ला प्रशासनिक कदमबारे पत्रकारहरूले सोधेको प्रश्नमा लामिछानेले लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताप्रति रास्वपा स्पष्ट र अडिग रहेको बताए ।

कतै कमजोरी वा त्रुटि भए त्यसलाई सच्याउन राज्यका वैधानिक निकायहरू क्रियाशील रहेको उल्लेख गर्दै उनले प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता संस्थामाथि विश्वास गर्नुपर्ने र तिनलाई थप बलियो बनाउनुपर्ने धारणा राखे ।

‘यदि कसैले गलत गर्‍यो भने त्यसलाई करेक्सन गर्ने हाम्रा संस्थाहरू छन् । प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता निकायहरूलाई हामीले विश्वास गर्नुपर्छ र थप बलियो बनाउनुपर्छ,’ उनले भने, ‘कहीँ कतै ट्र्याक बाहिर गयो भने त्यसलाई ट्र्याकमा ल्याउने कोसिस पार्टीले गर्छ ।’

सभापति लामिछानेले पार्टी र सरकारबीच टकराव वा आन्तरिक द्वन्द्व रहेको भन्दै फैलाइएका चर्चा र हल्लामा सत्यता नरहेको दोहोर्‍याए । पार्टी र सरकारबीच कुनै दूरी नरहेको उनको भनाइ थियो ।