ममता काफ्ले प्रकरणले फेरि ततायो अमेरिका : श्रीमतीको शव टुक्रा पारेको नरेश भट्टको स्वीकारोक्ति, आमाको प्रतीक्षामा अबोध छोरी!


अमेरिका ।अमेरिकाको भर्जिनियामा नेपाली समुदायलाई स्तब्ध बनाएको ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणमा नयाँ खुलासा भएको छ। आफ्नै श्रीमती ममता काफ्लेको हत्या गरेको अभियोग लागेका नरेश भट्टले अदालतमा दिएको बयानले घटनालाई थप चर्चामा ल्याएको छ।

अदालतमा बयान दिँदै नरेशले सन् २०२४ जुलाई ३० को बिहान आफ्नै शयनकक्षको भुइँमा ममतालाई अचेत अवस्थामा फेला पारेको बताएका छन्। उनले ममताको अवस्था देखेपछि बोलाउने, छामेर हेर्ने र सीपीआर गर्ने प्रयास गरेको दाबी गरेका छन्। तर त्यसपछि शव टुक्रा पारेको कुरा पनि उनले स्वीकार गरेका छन्।

यस प्रकरणमा सबैभन्दा संवेदनशील पक्ष उनकी सानी छोरी हुन्। आमाको काखमा खेल्ने, आमाकै हातबाट खाना खाने र आमाको माया पाएर हुर्किनुपर्ने उमेरमा ती बालिकाले आमाको साथ गुमाउनुपरेको छ। परिवारमा घटेको यो घटनाले बालिकाको भविष्य र मानसिक अवस्थाबारे समेत गम्भीर प्रश्न खडा गरेको छ।

अनुसन्धानका क्रममा प्रहरीले घरको शयनकक्ष र बाथरुममा रगतका दाग फेला पारेको थियो। कपाल अड्किएको विद्युतीय आरा पनि बरामद गरिएको थियो। यी प्रमाणका आधारमा प्रहरीले नरेशलाई सन् २०२४ अगस्ट २२ मा पक्राउ गरेको थियो।

ममता बेपत्ता भएको खबर सार्वजनिक भएपछि उनका आफन्त, साथीभाइ र नेपाली समुदायले उनको खोजीका लागि आवाज उठाएका थिए। ममता आफ्नी सानी छोरीलाई छाडेर कतै नजाने भन्दै परिवारले सुरुदेखि नै उनको बेपत्ताप्रति आशंका व्यक्त गरेको थियो।

अहिलेसम्म ममताको शव फेला परेको छैन। नरेश भने पक्राउ परेयता हिरासतमै छन्। उनीमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ।

एउटी आमाको अनुपस्थितिले एउटा बालिकाको संसार नै बदलिएको छ। ममता अब फर्किएर आउने छैनन् भन्ने पीडा परिवारका लागि कति असह्य होला, त्यो कल्पना गर्न पनि कठिन छ। तर परिवारको एउटै अपेक्षा छ—ममताले न्याय पाऊन् र घटनाको सम्पूर्ण सत्य बाहिर आओस्।