काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज विभिन्न धातुका नयाँ भाँडाकुँडा तथा सुनचाँदीका गरगहना किनेर घरमा भित्र्याउँदै मनाइँदै छ । धन, समृद्धि र सुख–शान्तिको कामनासहित मनाइने यस पर्वका अवसरमा बिहानैदेखि बजारमा चहलपहल बढेको छ ।
धनतेरसका दिन सुन, चाँदी, तामा, पित्तललगायत धातुका भाँडाकुँडा किनेर घरमा राख्ने परम्परा छ । यसरी किनेर ल्याइएका भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्ने चलन रहेको छ । धार्मिक विश्वासअनुसार यसरी पूजा आराधना गर्दा लक्ष्मी घरमा स्थिर भई बस्ने मान्यता छ ।
यही विश्वासका कारण धनतेरसका दिन नयाँ भाँडाकुँडा तथा सुनचाँदीका गरगहना किन्नेको भीड लाग्ने गर्छ । यस वर्ष पनि भाँडा पसलमा बिहानैदेखि ग्राहकको चाप देखिएको छ । व्यापारीहरूले एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडाकुँडा आकर्षक रूपमा सजाएर बिक्रीका लागि राखेका छन् ।
धनतेरसलाई धन त्रयोदशी र भाण्ड त्रयोदशीका नामले पनि चिनिन्छ । नयाँ भाँडाकुँडा किनेर घरमा भित्र्याउँदा लक्ष्मीको बास हुने धार्मिक विश्वासका आधारमा यस दिन विशेष किनमेल गर्ने प्रचलन छ ।
यमपञ्चकको पहिलो दिनसमेत रहेको आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरका सदस्यको सङ्ख्याअनुसार यमदीप दान गर्ने परम्परा छ । यसरी दीपदान गर्दा यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिए ।
शास्त्रीय तथा पौराणिक मान्यताअनुसार आजकै दिन धनका अधिपति कुबेरको जन्म भएको विश्वास गरिन्छ । त्यसैले आज कुबेरको विशेष पूजाआराधना गर्ने चलन पनि छ । कतिपयले धनतेरसकै दिन कुबेरको पूजा गर्ने गरे पनि केहीले लक्ष्मीपूजाकै दिन यस्तो पूजा गर्ने गर्छन् ।
दीपावली, तिहार तथा यमपञ्चकका नामले परिचित यो पर्व नेपालीको दसैँपछिको दोस्रो ठूलो चाड हो । धनतेरससँगै आजदेखि कात्तिक शुक्ल द्वितीयासम्म घर तथा व्यापारिक प्रतिष्ठानमा दीपावली गरी झिलिमिली बत्ती बाल्ने परम्परा छ ।

















प्रतिक्रिया