काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला सङ्ग्रौला पन्तले पार्टीको १५औँ महाधिवेशनले कांग्रेसलाई युवामय बनाएको बताएकी छन्। महाधिवेशनबाट युवा नेतृत्वलाई अगाडि बढाउने काम भएको उनको भनाइ छ।
नेपाल विद्यार्थी सङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान एवं चियापान कार्यक्रममा बोल्दै महामन्त्री सङ्ग्रौलाले कांग्रेसले आगामी दिनमा युवालाई केन्द्रमा राखेर आफ्ना कार्यक्रम अघि बढाउने बताइन्।
विदेशिएका युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने गरी पार्टीले नीति तथा कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउँदै उनले मुलुकमा पछिल्लो समय शिक्षाको गुणस्तर खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गरिन्। शैक्षिक गुणस्तर सुधारका लागि नेपाल विद्यार्थी सङ्घले प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले १५औँ महाधिवेशनले पार्टी र देशमा नयाँ उत्साह थपेको बताए। पार्टीलाई जीवन्त राख्न विचार, सङ्गठन र सक्षम नेतृत्व आवश्यक रहेको उनले उल्लेख गरे।
कांग्रेस केन्द्रीय सदस्य एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेलले नेपालको शैक्षिक बहसको नेतृत्व नेपाल विद्यार्थी सङ्घले गर्नुपर्ने बताए। पार्टीलाई बलियो बनाउन भ्रातृ संस्थाहरू पनि सुदृढ हुनुपर्ने उनको धारणा थियो।
कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सधैँ अग्रमोर्चामा उभिने बताइन्। नेपाल विद्यार्थी सङ्घकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले लोकतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिँदै नेविसङ्घको महाधिवेशन चाँडै गरिने जानकारी दिइन्।
कांग्रेस गोरखाका नेता प्रकाशचन्द्र दवाडीले युवामार्फत पार्टी सङ्गठन विस्तार भइरहेको बताए। केन्द्रीय तहका नेताहरू गाउँगाउँ पुगेर सङ्गठन विस्तारमा जुट्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, कांग्रेस गण्डकी प्रदेशका सदस्य पूर्ण दाहालले पार्टीलाई चलायमान बनाउन भ्रातृ संस्थाहरू सक्रिय हुनुपर्ने बताए। नेविसङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिका सभापति कमल पन्तले काठमाडौँमा रहेका युवालाई पार्टीसँग जोड्न सङ्घले काम गरिरहेको जानकारी दिए।
कार्यक्रममा गोरखाबाट कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका किरणबाबु श्रेष्ठ, दीपकबाबु कँडेल, जानुका पन्त र जनार्दन अर्याललाई सम्मान गरिएको थियो।

















प्रतिक्रिया