गाईतिहार मनाउँदै राष्ट्रपति पौडेल, विधिपूर्वक गरे गाईको पूजा


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गरेका छन्। कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनले विधिपूर्वक गाईको पूजा गरेका हुन्।

राष्ट्रपति पौडेलले गाईलाई देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरी खानेकुरासमेत खुवाएका थिए।

हिन्दू धर्म तथा नेपाली संस्कृतिमा गाईलाई लक्ष्मी र समृद्धिको प्रतीकका रूपमा मान्ने धार्मिक विश्वास रहिआएको छ। तिहारको चौथो दिन गाईतिहारका अवसरमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार गाईको पूजा गर्दा घरपरिवारमा सुख, शान्ति, समृद्धि र सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ।

नेपालमा तिहारलाई पाँच दिनसम्म विशेष उत्साह र उमङ्गका साथ मनाउने गरिन्छ। यस पर्वमा काग, कुकुर, गाई, गोरु तथा भाइटीकाका माध्यमबाट धार्मिक र सांस्कृतिक महत्त्व झल्काउने परम्परा रहिआएको छ।