न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा तीनतले भवन भत्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १९ जना घाइते भएका छन्।
बुधबार दिउँसो मध्य ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा रहेको व्यावसायिक तथा आवासीय प्रयोजनको मिश्रित भवन अचानक भत्किएको हो। स्थानीय अधिकारीहरूका अनुसार घटनामा घाइते भएका १९ जनामध्ये दुई जनाको मृत्यु भएको छ। चार जनाको अवस्था गम्भीर रहेको छ भने १२ जनाको अवस्था स्थिर रहेको छ।
घाइतेमध्ये कम्तीमा सात जना बालबालिका रहेका छन्। भग्नावशेषमा अझै कति मानिस पुरिएका वा हराइरहेका छन् भन्नेबारे यकिन विवरण प्राप्त हुन सकेको छैन।
घटनालगत्तै अग्नि नियन्त्रक, प्रहरी तथा उद्धारकर्मीको टोली परिचालन गरिएको थियो। घटनास्थलका दृश्यमा उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका मानिसलाई बाहिर निकालेर स्ट्रेचरमार्फत सुरक्षित स्थानमा लैजाँदै गरेको देखिन्छ।
भवन भत्किएको चार घण्टाभन्दा बढी समय बितिसक्दा पनि उद्धार कार्य जारी रहेको थियो। भवनको थप भाग भत्किन सक्ने जोखिम रहेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।
उक्त भवनसँगै रहेको निर्माणस्थलमाथि संरचना खस्दा दुवै स्थानमा मानिसहरू पुरिएका थिए। न्युयोर्क सहरको अग्नि नियन्त्रण विभागका आयुक्तले भग्नावशेषमा भइरहेको खोज तथा उद्धार कार्य अत्यन्तै जोखिमपूर्ण रहेको बताएका छन्।
घटनाको कारण र भवन भत्किनुअघि त्यहाँ रहेका मानिसको सङ्ख्याबारे थप अनुसन्धान भइरहेको छ।

















प्रतिक्रिया