पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृ-त्यु, १२ जना घाइते


पोखरा । कास्कीको पोखरा महानगरपालिका–२३, दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो । गम्भीर घाइते पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४, पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।

दुर्घटनामा १४ देखि २० वर्ष उमेर समूहका १२ जना घाइते भएका छन् । घाइते हुनेमा विवेक विक, विवस पराजुली, अमित सुनार, अनिशा नेपाली, उज्ज्वल सुनार, निशान नेपाली, सन्देश नेपाली, मुस्कान गुरुङ, आसिस सुनार, सन्जल सुनार, निसा नेपाली र दिपिन खत्री रहेका छन् ।

घाइते सबैको अवस्था मध्यम रहेको र उनीहरूको टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले जिप चालक पोखरा–२४, लौरुक निवासी २३ वर्षीय टोकबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।