शैक्षिक प्रमाणपत्र विवाद चर्किएपछि इन्डोनेसियाका उपराष्ट्रपतिले दिए राजीनामा


काठमाडौँ । शैक्षिक प्रमाणपत्र विवाद चर्किएपछि इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले पदबाट राजीनामा दिएका छन्। उनका सहयोगी बुदी एरीका अनुसार गिब्रानले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोलाई राजीनामा पत्र बुझाएका हुन्।

इन्डोनेसियाको सर्वोच्च अदालतले सन् २०२४ को निर्वाचनमा गिब्रानले पेस गरेको माध्यमिक तहको शैक्षिक प्रमाणपत्र अमान्य ठहर गरेपछि उनी विवादमा तानिएका थिए। अदालतले उनले माध्यमिक शिक्षा पूरा गरेको वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको प्रमाण फेला नपरेको जनाएको थियो।

अदालतको उक्त फैसलापछि गिब्रानमाथि महाभियोग प्रक्रिया अघि बढाउनुपर्ने मागसमेत उठेको थियो। १०० भन्दा बढी सांसदले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने संसदीय पहललाई समर्थन गरेका थिए। यद्यपि गिब्रानले अदालतको फैसलालाई चुनौती दिँदै आफ्नो शैक्षिक योग्यताको वैधता प्रमाणित गर्ने अवसर मागेका थिए।

गिब्रान सन् २०२४ को निर्वाचनमा राष्ट्रपति प्रबोवो सुबियान्तोका उम्मेदवार बनेका थिए। उनका पिता तथा तत्कालीन राष्ट्रपति जोको विडोडो (जोकोवी) र प्रबोवोबीच बनेको राजनीतिक गठबन्धनका कारण उनी उपराष्ट्रपतिको उम्मेदवार बनेका थिए।

पछिल्लो समय जोकोवी र राष्ट्रपति प्रबोवोबीचको सम्बन्धमा समेत तनाव बढ्दै गएको बताइएको छ। प्रबोवोले जोकोवीका प्रमुख योजनालाई प्राथमिकता नदिएको र उनका निकट व्यक्तिहरूलाई सरकारी जिम्मेवारीबाट हटाउँदै लगेको विवरण सार्वजनिक भएका छन्।

यसैबीच, गत साता राष्ट्रपति कार्यालयका प्रमुख लिस्तियो सिगितलाई प्रबोवोको फोन ट्यापिङ गरेको आशंकामा पक्राउ गरिएको थियो। उनी जोकोवीका निकट सहयोगी मानिन्छन्। पक्राउ परेको भोलिपल्टै राष्ट्रपति प्रबोवोले उनलाई पदबाट बर्खास्त गरेका थिए।