कोप–३१ मा नेपाली मौलिक पहिरनमा देखिए मन्त्री चौधरी


काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) को पहिलो दिन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएकी छन्।

हिमाली क्षेत्रले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, त्यहाँका बासिन्दाको अवस्था र पर्वतीय पर्यावरण संरक्षणको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने सन्देशसहित उनले शेर्पा समुदायको मौलिक पहिरन रोजेकी हुन्।

मन्त्री चौधरीको यो पहिरन नेपालको सांस्कृतिक पहिचान प्रस्तुत गर्ने माध्यम मात्रै नभई जलवायु संकटबाट प्रभावित हिमाली क्षेत्रको अवस्था विश्वसामु उजागर गर्ने प्रतीकात्मक प्रयासका रूपमा हेरिएको छ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिने, हिमताल विस्फोटको जोखिम बढ्ने तथा बाढीपहिरोजस्ता प्राकृतिक विपद् निम्तिने क्रम बढिरहेको छ। यसले हिमाली बस्तीका साथै जनजीवन, पूर्वाधार, पर्यटन र स्थानीयको जीविकोपार्जनमा समेत असर पारिरहेको छ।

पछिल्लो समय भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालको हिमाली क्षेत्र जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको विषयलाई पुनः उजागर गरेको छ। यस्ता विपद्का कारण मानवीय क्षतिसँगै भौतिक संरचना र सीमावर्ती बस्तीसमेत प्रभावित हुँदै आएका छन्।

नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको असर भने असमान रूपमा भोग्नुपरेको छ। त्यसैले हिमाली मुलुकका समस्या, जलवायुजन्य क्षति र प्रभावित समुदायको संरक्षणलाई अन्तर्राष्ट्रिय जलवायु बहसमा प्राथमिकता दिनुपर्ने नेपालको माग रहँदै आएको छ।

यस्तो अवस्थामा कोप–३१ को मञ्चमा शेर्पा समुदायको परम्परागत पहिरनमार्फत हिमाली संस्कृति, सभ्यता र पहिचान प्रस्तुत गर्नुले नेपालको जलवायु सरोकारलाई थप प्रभावकारी रूपमा विश्वसामु पुर्‍याउने अपेक्षा गरिएको छ।

जलवायु संकटको बहस कार्बन उत्सर्जन र तापक्रम वृद्धिमा मात्रै सीमित नराखी हिमाल, हिमाली समुदाय र उनीहरूको अस्तित्वसँग जोडिएका विषयलाई पनि विश्व समुदायले प्राथमिकतामा राख्नुपर्ने सन्देश मन्त्री चौधरीको प्रस्तुतिले दिएको छ।