भीमफेदी दुर्घटनाको खबरले स्तब्ध बनायो : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदीस्थित चिसापानीगढीमा भएको भीषण सवारी दुर्घटनामा १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

काठमाडौँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी दुर्घटनामा पर्दा १० जनाको दुःखद निधन भएको खबरले आफू स्तब्ध र मर्माहत भएको थापाले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै उनले दुर्घटनालाई हृदयविदारक र अकल्पनीय घटनाको संज्ञा दिएका छन् ।

सभापति थापाले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

त्यस्तै, उनले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकाकुल परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका छन् ।