ममता काफ्ले हत्या प्रकरणमा अन्तिम सुनुवाइ, सरकारी वकिलको दमदार बहस


काठमाडौं । अमेरिकाको भर्जिनियास्थित अदालतमा ममता काफ्ले भट्ट हत्या मुद्दाको अन्तिम बहसका क्रममा सरकारी वकिल सारा सामीले भावुक र प्रभावशाली तर्क प्रस्तुत गरेकी छन्। करिब ४७ मिनेट लामो बहसमा उनले ममताका श्रीमान् नरेश भट्टविरुद्धका प्रमाण र उनका बयानमा देखिएका विरोधाभासलाई निर्णायक मण्डलसमक्ष राखिन्।

बहसको अन्त्यतिर भने सामीले अपराधका प्रमाणसँगै ममताको शव नभेटिँदा उनको परिवारले भोग्नुपरेको पीडालाई पनि जोड दिइन्। उनले निर्णायक मण्डललाई भनिन्, ‘नरेशलाई ममताको अन्तिम सम्झनासमेत नियन्त्रण गर्न नदिनुहोस्।’

ममताको शव अहिलेसम्म फेला नपरेको प्रसंग उठाउँदै उनले परिवारले छोरीको अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्थालाई हृदयविदारक रूपमा प्रस्तुत गरिन्।

‘लुरे, भर्जिनियाको ल्यान्डफिल नै ममताको अन्तिम विश्रामस्थल बनाइएको छ। उनको परिवारका लागि ममता सधैँ हराइरहनेछिन्। उनीहरूले उनको अन्तिम संस्कार गर्ने अवसर कहिल्यै पाउने छैनन्। उनका अवशेष कतै फोहोरको थुप्रोमुनि थिचिएका छन्,’ सामीले भनिन्।

उनको यो भनाइले अदालतको माहोल भावुक बनेको थियो। ममताकी आमा, दाइ र शुभचिन्तकहरू भावविह्वल भएका थिए। अभियोजन पक्षले यो मुद्दालाई केवल हत्याको घटनाका रूपमा नभई एउटी महिलाको जीवन र उनको अस्तित्वसमेत मेटाउने प्रयासका रूपमा चित्रण गरेको थियो।

१६२ दिनअघिको सन्देशलाई बनाइन् महत्त्वपूर्ण प्रमाण

सामीले आफ्नो बहसको सुरुवात नरेशले ममतालाई पठाएको एउटा सन्देशबाट गरेकी थिइन्। नरेशले ममतालाई लेखेका थिए, ‘The days are coming that you will regret a lot।’

अर्थात्, अब तिमीले धेरै पछुताउनुपर्ने दिन आउँदैछन्।

सामीका अनुसार ममता हराउनुभन्दा १६२ दिनअघि उक्त सन्देश पठाइएको थियो। उनले निर्णायक मण्डलसमक्ष यही सन्देशलाई नरेशको नियत र घटनाबीचको महत्त्वपूर्ण कडीका रूपमा प्रस्तुत गरिन्।

‘१६२ दिनपछि उनले आफ्नो वाचा पूरा गरे। १६२ दिनपछि नरेशले ममताको हत्या गरे, उनको शरीर टुक्राटुक्रा पारे र फोहोरसरह फालिदिए,’ उनले भनिन्।

ममताको जीवनमाथि नरेशको नियन्त्रण रहेको दाबी

सामीले ममता र नरेशबीचको वैवाहिक सम्बन्धलाई सामान्य पारिवारिक विवादका रूपमा मात्रै हेर्न नहुने तर्क गरिन्। उनका अनुसार नरेशले ममताको फोन प्रयोगमा रोक लगाएका थिए, आर्थिक पहुँच नियन्त्रण गरेका थिए र उनलाई गाडी प्रयोग गर्नसमेत कठिन बनाएका थिए।

ममताले आफ्ना श्रीमानलाई घरमा ‘राजा’ भनेर सम्बोधन गर्ने गरेको प्रसंगलाई पनि उनले बहसमा समेटिन्। तर सामीका अनुसार त्यो घर प्रेम र सुरक्षाको वातावरण भएको घर थिएन।

‘वास्तविकता के थियो भने ममता त्रासको घरमा बाँचिरहेकी थिइन्। नरेशसँग यातनाको साम्राज्य थियो, जहाँ उनी राजा बनेर शासन गर्थे,’ उनले भनिन्।

सामीले नरेशलाई अरूलाई आफ्नो नियन्त्रणमा राख्न र भ्रमित पार्न माहिर व्यक्ति अर्थात् ‘मास्टर म्यानिपुलेटर’का रूपमा चित्रण गर्दै उनलाई झुटको मालिकसमेत बताइन्।

‘आत्महत्या गरेको भए प्रहरीलाई किन बोलाएनन् ?’

अदालतमा नरेशले ममता मृत अवस्थामा भेटिएको र उनले विष सेवन गरेर आत्महत्या गरेको दाबी गरेका थिए। आफूले करिब ४५ मिनेटदेखि एक घण्टासम्म उनलाई बचाउने प्रयास गरेको तर डर र त्रासका कारण प्रहरीलाई खबर गर्न नसकेको उनको भनाइ थियो।

तर ममताको शव आरा र चक्कुको प्रयोग गरी टुक्र्याएको तथा फोहोरमा फालेको कुरा भने उनले स्वीकार गरेका थिए।

सामीले नरेशको यही स्वीकारोक्तिलाई उनको दाबीमाथि प्रश्न उठाउने आधार बनाइन्।

‘उनले ममताको शरीर टुक्राटुक्रा पारे, फोहोरको कन्टेनरमा हाले, तर उनको मृत्युमा आफ्नो कुनै भूमिका छैन भन्ने विश्वास हामीलाई गराउन खोजिरहेका छन्। यो हास्यास्पद छ,’ उनले भनिन्।

उनले घटनास्थलमा भेटिएको रगतको प्रमाण, सरसफाइका सामग्री, आरा खरिद गरेको विवरण, सीसीटीभी फुटेज र नरेशका विभिन्न बयानबीच देखिएका विरोधाभासलाई पनि निर्णायक मण्डलसमक्ष प्रस्तुत गरिन्।

तीनवटै अभियोगमा दोषी ठहर

ममता हराएको खबर सन् २०२४ अगस्टमा सार्वजनिक भएको थियो। त्यसपछि सुरु भएको अनुसन्धानले नरेशमाथि शंका बढाउँदै लगेको थियो। लामो अनुसन्धानपछि सुरु भएको मुद्दामा झन्डै छ हप्तासम्म बहस र साक्षीका बयान चलेका थिए।

अन्ततः नोभेम्बर १० मा निर्णायक मण्डलले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको गरी तीनवटै अभियोगमा दोषी ठहर गरेको हो।

निर्णय सार्वजनिक हुँदा नरेश अदालतमा शान्त देखिएका थिए। तर ममताको परिवार र शुभचिन्तकका लागि यो लामो प्रतीक्षापछिको महत्त्वपूर्ण क्षण बनेको थियो।

नरेशले सजायस्वरूप आजीवन कारावाससम्म भोग्नुपर्ने हुन सक्छ। उनको सजाय निर्धारण सन् २०२७ मार्च १२ मा हुने तय भएको छ।