काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको दर्दनाक माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रुहरूको दुर्घटनामा परी ज्यान गएको घटनाले आफूलाई मर्माहत र स्तब्ध बनाएको लामिछानेले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एउटै बस्ती र टोलका नागरिकले एकैपटक भोग्नुपरेको अकल्पनीय पीडालाई शब्दमा व्यक्त गर्नसमेत कठिन भएको उल्लेख गरेका छन् ।
‘छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ,’ उनले लेखेका छन् ।
लामिछानेले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको नम्बर नखुलेको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।

















प्रतिक्रिया