काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बिहीबार मध्याह्न स्वदेश फर्किएकी छन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरूबीच स्वास्थ्य सेवाको विकास र क्षेत्रीय स्वास्थ्य क्षेत्रलाई सबल बनाउने विषयमा छलफल भएको जानकारी दिइन् ।
उनका अनुसार बैठकमा जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभाव, स्वास्थ्यसम्बन्धी साझा चुनौती र पारस्परिक चिकित्साको प्रवर्द्धन तथा विकासका विषयमा गहन छलफल भएको थियो ।
बैठकका क्रममा श्रीलंकाका प्रधानमन्त्रीसँग भेटघाट हुनुका साथै बिमस्टेकका सातवटै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग आयोजित विभिन्न साइड इभेन्टमा समेत सहभागी भएको उनले बताइन् ।
मन्त्री मेहताले क्यान्सरलगायत गम्भीर रोगका औषधिको अभाव र सहज उपलब्धताको विषयलाई पनि बैठकमा प्राथमिकताका साथ उठाइएको जानकारी दिइन् ।
विशेषगरी क्यान्सरका औषधि बेलाबेलामा अभाव हुने समस्यालाई ध्यानमा राख्दै बंगलादेशसँग सरकार–सरकार (जी–टु–जी) सहकार्यमार्फत औषधिको लागत घटाउने र सहज आपूर्ति सुनिश्चित गर्ने विषयमा पहल गरिएको उनले स्पष्ट पारिन् ।
बैठकमा भएका छलफल र सहकार्यका पहलले बिमस्टेक सदस्य राष्ट्रहरूबीच स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र औषधि आपूर्तिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया