बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख रामदास गुप्ताको निधनमा नगरपालिकाले शुक्रबार (कात्तिक २७ गते) शोक बिदा दिएको छ ।
नगरपालिकाले बिहीबार सूचना जारी गर्दै पूर्वनगरप्रमुख गुप्ताको असामयिक निधनले नगरपालिका परिवार स्तब्ध र मर्माहत भएको जनाएको छ ।
नगरप्रमुख सुदीप खनालद्वारा जारी सूचनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
नगरपालिकाले कात्तिक २७ गते एक दिनका लागि नगरपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था तथा सामुदायिक, संस्थागत र धार्मिक शिक्षण संस्थामा शोक बिदा दिने निर्णय गरेको हो ।
लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित गुप्ताको कपिलवस्तु नगरपालिका–२ जमुहावारस्थित आफ्नै निवासमा बिहीबार बिहान ६ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
२०३९ सालमा तौलिहवा नगरपालिका स्थापना भएपछि गुप्ता नगरप्रमुखमा निर्वाचित भएका थिए । त्यसपछि २०४८ र २०५४ सालमा पनि उनी कपिलवस्तु नगरपालिकाको मेयर बनेका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा समेत मेयर पदका उम्मेदवार बनेका गुप्ता भने पराजित भएका थिए । स्थानीय तहको नेतृत्वमा लामो समय योगदान दिएका गुप्ताको निधनले नगरपालिकाले एक दिन शोक बिदा दिएको हो ।

















प्रतिक्रिया