काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले पालिकाभरि एक दिन सार्वजनिक शोक बिदा घोषणा गरेको छ ।
काठमाडौँबाट सर्लाही जाँदै गरेको विद्युतीय सवारी साधन दुर्घटनामा परी चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका मात्रै १३ जनाको मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका स्थानीय नागरिकका परिवारलाई अन्तिम संस्कार तथा धार्मिक काजक्रिया खर्चमा सहयोग पुर्याउने उद्देश्यले प्रतिमृतक ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
छठ पर्व मनाउन घर फर्किने क्रममा आफ्ना नागरिकहरूले अकालमै ज्यान गुमाउनुपरेपछि सुन्दरपुर गाउँसहित सिङ्गो चक्रघट्टा क्षेत्र शोकमा डुबेको छ । एउटै गाउँका १३ जनाले ज्यान गुमाएपछि स्थानीय समुदायमा गहिरो पीडा र शोक छाएको छ ।
गाउँपालिकाले दुर्घटनामा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
शोक बिदाका दिन गाउँपालिकाभित्रका प्रशासनिक तथा सार्वजनिक सेवा प्रवाह बन्द रहने जनाइएको छ । यद्यपि, नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिकाले स्पष्ट पारेको छ ।
दुर्घटनामा आफ्ना नागरिक गुमाएको पीडामा रहेको चक्रघट्टा गाउँपालिकाले शोक बिदा तथा आर्थिक सहायता घोषणा गर्दै पीडित परिवारप्रति स्थानीय सरकारको साथ र सहयोग रहने जनाएको छ ।

















प्रतिक्रिया