एउटै दुर्घटनामा श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पतालमा


हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको भीषण सवारी दुर्घटनाले सर्लाहीका अवधेश यादवको परिवार नै उजाडिएको छ । दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश आफैँ पनि बिरामी परेका छन् ।

आफ्नै आँखाअगाडि परिवारका सदस्य गुमाउनुपर्दाको पीडाले विक्षिप्त बनेका अवधेशको रक्तचाप घटेपछि स्वास्थ्यमा समस्या देखिएको हो । उनलाई हेटौँडा अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा अवधेशले ३५ वर्षीया गर्भवती श्रीमती पुनमदेवी यादव, १० वर्षीया छोरी अनुकुमारी, ७ वर्षीया छोरी दीक्षा र ५ वर्षीया छोरी दीपिकालाई गुमाएका छन् । त्यस्तै, उनका २६ वर्षीय सहोदर भाइ विकेश यादव र २४ वर्षीय भाइ सुबोध यादवको पनि दुर्घटनामा ज्यान गएको छ ।

परिवारका ६ सदस्य गुमाएका अवधेशका डेढ वर्षीय छोरा सुदीप भने दुर्घटनामा घाइते भएका छन् । उनको काठमाडौंमा उपचार भइरहेको छ । परिवारका अन्य सदस्य गुमाउँदा बाँचेका साना छोराको अवस्थाले पनि अवधेशको पीडालाई झनै गहिरो बनाएको छ ।

सिट नपाएपछि छुट्टिएका थिए अवधेश

छठ पर्व मनाउन यादव परिवार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ स्थित सुन्दरपुर टोलमा रहेको आफ्नो घर फर्कंदै थियो । परिवारका सबै सदस्य एउटै गाडीमा घर जान तयार भए पनि गाडीमा सिट नपाएपछि अवधेश भने उनीहरूसँगै जान पाएनन् ।

‘म अर्को दिन आउँछु’ भन्दै उनले श्रीमती, छोराछोरी र भाइहरूलाई गाडी चढाएर आफू डेरामै फर्किएका थिए । परिवारलाई सुरक्षित रूपमा घर पठाएको ठानेका अवधेशका लागि त्यो यात्रा जीवनकै सबैभन्दा ठूलो बज्रपात बन्न पुग्यो ।

बिहीबार बिहानै चिसापानीगढीमा भएको दुर्घटनाको खबर पाएपछि उनी हतारिँदै हेटौँडा पुगेका थिए । तर, त्यहाँ पुग्दा उनले कल्पनासमेत नगरेको दुःखद खबर सुन्नुपर्‍यो । आफूले घर पठाएका परिवारका सदस्यहरूमध्ये डेढ वर्षीय छोरा मात्रै जीवित रहेको थाहा पाएपछि उनी सम्हालिन सकेका छैनन् ।

एकै दुर्घटनामा १४ जनाको मृत्यु

भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको उक्त सवारी दुर्घटनामा कुल १४ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् ।

छठ पर्व मनाउन खुसीसाथ घर फर्किरहेका यादव परिवारका लागि त्यो यात्रा कहिल्यै नफर्किने पीडादायी घटनामा परिणत भयो । श्रीमती, छोरीहरू र भाइहरू गुमाएका अवधेश अहिले अस्पतालको शय्यामा छन् भने डेढ वर्षीय छोरा काठमाडौंमा उपचाररत छन् ।

एउटै दुर्घटनाले परिवारका अधिकांश सदस्य गुमाएका अवधेशका लागि अब बाँचेका छोराको स्वास्थ्य र भविष्य नै ठूलो चिन्ताको विषय बनेको छ ।