बाटुलो जून’का दृश्य सामाजिक सञ्जालमा भाइरल, साइबर ब्युरोमा उजुरी


काठमाडौँ । अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’का दृश्य अनधिकृत रूपमा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि निर्माण पक्षले कानुनी प्रक्रिया अघि बढाएको छ । चलचित्रका भिडियो क्लिप विभिन्न सामाजिक सञ्जालमा अपलोड गर्ने प्रयोगकर्ताविरुद्ध निर्माण युनिटले साइबर ब्युरोमा उजुरी दिएको हो ।

फिल्मकी निर्माता जिया केसीले शुक्रबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन् । चलचित्रका दृश्य अनुमतिबिना रेकर्ड गरी टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतका सामाजिक सञ्जालमा अपलोड गरिएको भन्दै उनले संलग्न व्यक्तिमाथि कारबाही र क्षतिपूर्तिको माग गरेकी छन् ।

सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको ‘बाटुलो जून’का भिडियो क्लिपहरू विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । निर्माण पक्षका अनुसार चलचित्रको दृश्य अनधिकृत रूपमा रेकर्ड तथा प्रसारण गर्दा सर्जकको प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्तिमाथि हनन भएको छ ।

यसरी अनुमति नलिई चलचित्रका दृश्य सार्वजनिक गर्नुले निर्माण पक्षको व्यावसायिक हितमा असर पार्ने भन्दै केसीले कानुनी उपचार खोजेकी हुन् ।

सामाजिक सञ्जालमा फिल्मका दृश्य सार्वजनिक भएपछि एक्सनमा निर्माता

चलचित्र हलमा प्रदर्शन भइरहेकै समयमा त्यसका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि निर्माण पक्षले आपत्ति जनाएको हो ।

टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबजस्ता प्लेटफर्ममा चलचित्रका क्लिपहरू फैलिँदा दर्शकले हलमै पुगेर चलचित्र हेर्ने अनुभव र निर्माण पक्षको व्यावसायिक हित प्रभावित हुन सक्ने देखिन्छ ।

चलचित्र निर्माणमा ठूलो लगानी, समय र सिर्जनात्मक मेहनत खर्च हुने भएकाले अनुमति नलिई दृश्य रेकर्ड तथा सार्वजनिक गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने निर्माण पक्षको धारणा छ ।

बिहीबारदेखि प्रदर्शनमा आएको छ ‘बाटुलो जून’

भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘बाटुलो जून’ बिहीबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शन भइरहेको छ ।

चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको छ । प्रदर्शनसँगै चलचित्रले दर्शकको आकर्षणसमेत पाइरहेको निर्माण पक्षको दाबी छ ।

यसअघि चलचित्रको शो वितरणलाई लिएर पनि निर्माण पक्षले असन्तुष्टि व्यक्त गरेको थियो । दर्शकको राम्रो साथ हुँदाहुँदै नेपाली चलचित्रलाई पर्याप्त शो नदिइएको भन्दै निर्माता सरोज न्यौपानेले हल सञ्चालकको नीतिमाथि प्रश्न उठाएका थिए ।

अहिले चलचित्रका दृश्य सामाजिक सञ्जालमा अनधिकृत रूपमा सार्वजनिक भएको विषयले निर्माण पक्षलाई थप कानुनी प्रक्रियामा जान बाध्य बनाएको छ ।

साइबर ब्युरोमा उजुरी परेसँगै अब अनधिकृत रूपमा चलचित्रका दृश्य रेकर्ड तथा अपलोड गर्ने प्रयोगकर्तामाथि कस्तो अनुसन्धान र कारबाही अघि बढ्छ भन्ने चासो बढेको छ ।