काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकार लामो समयसम्म टिक्न नसक्ने दाबी गर्दै सरकारविरुद्ध सशक्त राजनीतिक आन्दोलनमा उत्रिनुपर्ने बताएका छन्। उनले वर्तमान सरकारलाई आउँदो नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने अभिव्यक्ति दिएका छन्।
पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै सचिव बस्नेतले सरकारका गतिविधिविरुद्ध एमालेले सशक्त प्रतिवाद गर्नुपर्ने बताएका हुन्। सरकारका जनविरोधी कदमविरुद्ध जनतालाई संगठित गर्दै राजनीतिक आन्दोलन अघि बढाउनुपर्ने उनको भनाइ थियो।
बस्नेतले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार अन्य राजनीतिक दलहरूसँग समेत सहकार्य गर्न एमाले तयार रहेको स्पष्ट पारे। सरकारका गलत गतिविधिविरुद्ध आवाज उठाउन पार्टीको संगठनलाई तल्लो तहसम्म थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।
वर्तमान सरकार र सत्तारूढ दलको नेतृत्वमाथि सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै बस्नेतले सरकारका गतिविधि जनतामाझ उजागर गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।
उनले प्रविधिको अधिकतम प्रयोग गरेर सरकारका कामकारबाही, कमजोरी र अलोकतान्त्रिक गतिविधिबारे जनतालाई सुसूचित गराउनुपर्ने बताए।
बैठकमा बस्नेतले भने, ‘सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा मुछिएको यो सरकारको आयु धेरै लामो छैन, यसलाई आउँदो नयाँ वर्ष देख्न दिनु हुँदैन। अन्य दलहरूसँग सहकार्य गर्दै आन्दोलन र साङ्गठनिक सुदृढीकरणको कार्यभार बोकेर एमाले अघि बढ्नेछ।’
उनले पार्टीको सांगठनिक अवस्था बलियो नभएसम्म राजनीतिक आन्दोलन र चुनावी प्रतिस्पर्धामा अपेक्षित सफलता हासिल गर्न नसकिने धारणा राखे। त्यसैले पार्टीका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका कमिटीहरूलाई सक्रिय र व्यवस्थित बनाउनुपर्ने उनको जोड थियो।
यसैगरी, आगामी स्थानीय तह तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै तयारीमा जुट्न उनले नेता तथा कार्यकर्तालाई आह्वान गरे। निर्वाचनमा पार्टीलाई पुनः पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा संगठन विस्तार, जनसम्पर्क र राजनीतिक गतिविधि अघि बढाउनुपर्ने बस्नेतले बताए।
उनको अभिव्यक्तिले एमालेले वर्तमान सरकारविरुद्ध राजनीतिक दबाब र आन्दोलनलाई प्राथमिकतामा राख्ने संकेत गरेको छ। यद्यपि, आन्दोलनको स्वरूप, समयतालिका र अन्य दलसँगको सहकार्यबारे थप विवरण भने सार्वजनिक हुन बाँकी छ।

















प्रतिक्रिया