सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। पछिल्लो समय उच्च मूल्यका कारण चर्चामा रहेको सुनको भाउ आइतबार प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको थियो।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य घटेसँगै उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ। यद्यपि सुनको मूल्य अझै उच्च विन्दुमै रहेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ। शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ६०० रुपैयाँमा झरेको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आइतबार १० ग्राम छापावाल सुनको मूल्य २ लाख ३१ हजार ६५० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ८७ रुपैयाँ निर्धारण गरिएको छ।

पछिल्लो मूल्य घटबढले सुनचाँदी बजारमा उपभोक्ता तथा व्यवसायी दुवैको चासो बढाएको छ। विवाह, चाडपर्व तथा अन्य प्रयोजनका लागि सुनचाँदी खरिद गर्ने तयारीमा रहेका ग्राहकले बजारको नयाँ मूल्यलाई ध्यान दिनुपर्ने देखिन्छ।