प्राविधिक गडबडीले अमेरिकाको हवाई सेवा प्रभावित, १७ हजार उडान रद्द


वासिङ्टन । अमेरिकामा प्राविधिक समस्याका कारण राष्ट्रव्यापी रूपमा हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु प्रभावित भएका छन्। शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म हवाई उडान रोकिएपछि अमेरिकी हवाई यातायात प्रणालीमा ठूलो अवरोध सिर्जना भएको हो।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शनिबार राति करिब ८ः१५ बजे (स्थानीय समय) उडान रोक हटाएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन्। तर हवाई सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्।

एफएएका अनुसार शुक्रबारको प्राविधिक अवरोधका कारण निर्धारित उडानमध्ये करिब १२ हजार उडान सञ्चालन हुन सकेनन्। त्यस्तै, शनिबारका लागि निर्धारित ४१ हजार उडानमध्ये करिब पाँच हजार उडान रद्द गरिएका थिए। लगातार दुई दिनको अवरोधका कारण कुल १७ हजार हाराहारी उडान प्रभावित भएका छन्।

पछिल्लो २५ वर्षयताकै सबैभन्दा लामो उडान रोकका कारण अमेरिकाका विभिन्न विमानस्थलमा यात्रुहरू अलपत्र परेका थिए। आन्तरिक हवाई यात्रामा निर्भर हजारौँ यात्रुले आफ्नो यात्रा स्थगित गर्नुपरेको थियो भने कतिपय यात्रु वैकल्पिक उडानको प्रतीक्षामा विमानस्थलमै बस्न बाध्य भएका थिए।

एफएएका प्रशासक ब्रायन बेडफोर्डले शनिबार अमेरिकी हवाई यातायात प्रणाली स्थिर अवस्थामा रहेको र सञ्चालनमा आइसकेको जानकारी दिएका छन्। उनका अनुसार उडानमा ढिलाइ र रद्द हुने समस्या अझै केही समय कायम रहने भए पनि आइतबारसम्म सेवा पूर्ण रूपमा सामान्य हुने अपेक्षा गरिएको छ।

‘आज पनि उडानमा ढिलाइ र रद्द हुने समस्या रहनेछ, तर यसले भोलिसम्म पूर्ण रूपमा सेवा पुनः सञ्चालन गर्न सहयोग गर्नेछ,’ बेडफोर्डले भने।

उनले हवाई सेवा अवरुद्ध हुँदा यात्रुले भोग्नुपरेको असुविधाप्रति क्षमायाचना गर्दै कठिन परिस्थितिमा खटिएका हवाई यातायात नियन्त्रक, विमान चालक तथा परिचारिकाहरूको योगदानको प्रशंसा गरेका छन्।

यसैबीच, अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले उक्त प्राविधिक समस्या साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको स्पष्ट पारेका छन्। उनले घटनाबाट कसैको ज्यान जोखिममा नपरेको पनि बताएका छन्।

अमेरिकी यातायातमन्त्री सिन डफीका अनुसार शुक्रबार दिउँसो दुर्गम क्षेत्रमा रहेको हवाई यातायात प्रणालीको पुरानो तामाको तारलाई नयाँ फाइबर तारले प्रतिस्थापन गर्ने काम भइरहेको थियो। प्रणालीको एउटा भाग स्तरोन्नति गर्ने क्रममा अत्यधिक भार सिर्जना भएपछि प्राविधिक समस्या उत्पन्न भएको उनको भनाइ छ।

उडान अवरोधका कारण प्रभावित यात्रुलाई राहत दिन विभिन्न विमान कम्पनीले टिकट परिवर्तन शुल्क हटाएका छन्। उडान रद्द भएका यात्रुलाई अर्को उपलब्ध उडानमा निःशुल्क स्थानान्तरण गर्ने वा टिकटको पूर्ण रकम फिर्ता गर्ने व्यवस्था गरिएको छ।

केही विमान कम्पनीले शुक्रबार र शनिबारका यात्रुका लागि मात्रै नभई आइतबार र सोमबारका लागि टिकट बुक गरेका यात्रुलाई समेत शुल्क छुट तथा टिकट परिवर्तनको सुविधा विस्तार गरेका छन्।

अमेरिकी अधिकारीहरूले हवाई क्षेत्र सुरक्षित रहेको र प्राविधिक समस्या समाधान भएसँगै हवाई सेवा क्रमशः सामान्य अवस्थामा फर्किरहेको बताएका छन्। यद्यपि, रद्द भएका उडान र यात्रुको चाप व्यवस्थापन गर्न विमान कम्पनीहरूलाई थप समय लाग्ने देखिएको छ।