काठमाडौँ । चीन र क्यानडाले द्विपक्षीय व्यापार सम्बन्धलाई थप विस्तार गर्दै विभिन्न वस्तुमा भन्सार सहुलियत उपलब्ध गराउने सहमति गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच मंगलबार चीनको सेन्जेनमा भएको भेटवार्तामा व्यापार सहकार्य बढाउने र भन्सार छुटको दायरा विस्तार गर्ने सहमति भएको हो ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनअघि भएको भेटवार्तामा चीनले क्यानडाबाट आयात हुने पोर्क, माछा तथा समुद्री खाद्य पदार्थमा थप भन्सार सहुलियत दिने भएको छ । क्यानडाका प्रधानमन्त्रीको कार्यालयका अनुसार यसबाट करिब ४० करोड क्यानेडियन डलर अर्थात् २८ करोड अमेरिकी डलर बराबरका क्यानडेली निर्यात लाभान्वित हुनेछन् ।
भन्सार सहुलियत पाउने वस्तुमा फ्रोजन पोर्क, माछा तथा अन्य समुद्री खाद्य सामग्री रहेका छन् । यसको बदलामा क्यानडाले चीनबाट आयात हुने केही स्टिल तथा आल्मुनियम उत्पादनमा दिँदै आएको भन्सार छुटसम्बन्धी व्यवस्था थप दुई वर्षका लागि विस्तार गर्ने भएको छ । उक्त व्यवस्था सन् २०२६ को अन्त्यमा समाप्त हुँदै थियो ।
भेटवार्तापछि प्रधानमन्त्री कार्नीले चीनसँगको सम्बन्धमा थप स्थिरता र पूर्वानुमान गर्न सकिने अवस्था विकास भएको बताएका छन् । सन् २०३० को दशकको अन्त्यसम्म चीनतर्फ क्यानडाको निर्यात ५० प्रतिशतले बढाउने लक्ष्य रहेको उल्लेख गर्दै उनले त्यस दिशामा अपेक्षाभन्दा तीव्र गतिमा प्रगति भइरहेको बताए ।
अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउने क्यानडाको आर्थिक रणनीतिमा चीनसँगको व्यापार विस्तारलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाका विभिन्न उत्पादनमा उच्च भन्सार शुल्क लगाएपछि क्यानडाले वैकल्पिक बजार खोज्दै निर्यात विस्तारको प्रयास गरिरहेको छ ।
भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले गत जनवरीमा दुई देशबीच रणनीतिक साझेदारी अघि बढाउने सहमति भएपछि विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य पुनः सुरु भएको बताए । उनले व्यापार, ऊर्जा, कृषि र वित्तसँगै हरित अर्थतन्त्र, डिजिटल अर्थतन्त्र तथा विद्युतीय व्यापारमा सहकार्य विस्तार गर्नुपर्ने प्रस्ताव अघि सारे ।
सीले सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार र बहुपक्षीय व्यापार प्रणालीको संरक्षणमा पनि जोड दिएका छन् । चीन र क्यानडाबीचको सहकार्यले दुई देशका साथै एसिया–प्रशान्त क्षेत्र र विश्वलाई समेत लाभ पुग्ने उनको भनाइ थियो ।
सी र कार्नीबीच मंगलबार भएको भेट कार्नी प्रधानमन्त्री बनेपछि तेस्रो हो । यसअघि उनीहरू गत वर्ष दक्षिण कोरियामा आयोजित एपेक शिखर सम्मेलनका क्रममा भेटेका थिए ।
पछिल्लो समय चीनले क्यानडाको तोरीको बीउ, तोरीको पिना, लब्स्टर, गंगटा र केराउलगायत वस्तुमा समेत भन्सार सहुलियत विस्तार गरेको छ । सन् २०२६ मा चीनतर्फ क्यानडाको कच्चा तेल निर्यात अघिल्लो अवस्थाको तुलनामा करिब ३७ प्रतिशतले बढेको रोयटर्सले एलएसईजीको तथ्याङ्कका आधारमा गरेको गणनामा उल्लेख छ ।
यद्यपि, चीनसँगको व्यापारिक तथा कूटनीतिक निकटताले क्यानडाको राष्ट्रिय सुरक्षा र लोकतान्त्रिक मूल्यमा असर पार्न सक्ने भन्दै सुरक्षा विश्लेषक तथा मानवअधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।
उनीहरूले हङकङका लोकतन्त्र समर्थक सञ्चार उद्यमी जिम्मी लाइको कारावास, गत वर्ष चार क्यानडेली नागरिकलाई चीनले दिएको मृत्युदण्ड तथा क्यानडाका कम्तीमा दुई संघीय निर्वाचनमा चीनको हस्तक्षेप भएको गुप्तचर निकायको निष्कर्षलाई चिन्ताका आधारका रूपमा प्रस्तुत गरेका छन् ।
तर चीनले भने क्यानडाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने आफ्नो कुनै उद्देश्य नरहेको बताउँदै आएको छ ।

















प्रतिक्रिया