दानबहादुर कार्कीलाई आईजीपीमा पुनर्बहाली नगर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनर्बहाली गर्नुपर्ने मागसहित दायर गरिएको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी नगर्ने निर्णय गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

इजलासले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुको कारणसहित लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

त्यस्तै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित गराउनसमेत सर्वोच्चले आदेश दिएको छ । यद्यपि, आदेशको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

सबै विपक्षीको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइको प्रक्रिया अघि बढाउनेछ ।