काठमाडौँ । सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन बोलाउने विषयमा छलफल भइरहेको र छिट्टै आह्वान गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाह यसै साता भारत भ्रमणमा जाने भएकाले अधिवेशन आह्वानको समय तत्काल निश्चित हुन नसकेको उनको भनाइ छ। सरकारले आगामी अधिवेशनलाई लक्षित गर्दै विद्यमान कानुनको समीक्षा, नयाँ कानुन निर्माण तथा आवश्यक संशोधनको गृहकार्य अघि बढाएको छ।
सरकारले ‘कानुन निर्माण तथा सुधार वर्ष’ अन्तर्गत एक वर्षमा १६६ वटा कानुन निर्माण तथा सुधार गर्ने लक्ष्य राखेको छ। यसका लागि गठित समितिले प्रत्येक १५ दिनमा बैठक गरी मन्त्रालयहरूको प्रगति समीक्षा गरिरहेको मन्त्री गौतमले जानकारी दिइन्।
यता, संसद् सचिवालयले पनि अधिवेशन सञ्चालनका लागि तयारी गरिरहेको जनाएको छ। नयाँ संसद् भवनको प्रतिनिधिसभा सभाकक्ष तयार भए पनि प्रत्यक्ष प्रसारण तथा अडियो–भिडियो प्रणालीको प्राविधिक काम बाँकी रहेको सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।
सचिवालयका अनुसार प्रतिनिधिसभामा २४ वटा विधेयक विचाराधीन छन्। आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संसदीय समितिमार्फत विधेयकमाथि व्यापक छलफल र अध्ययन गर्ने तयारी गरेको छ।

















प्रतिक्रिया