काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
लगातार तेस्रोपटक फाइनल पुग्ने लक्ष्यमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो । ब्याटिङमा कमजोर प्रदर्शन गर्दै उसले १०५ रन मात्रै बनाएको थियो ।
यता चितवनले एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । उक्त खेलमा कमिल मिसाराले ५९ बलमा अविजित १२० रन बनाउँदै एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान बनाएका थिए । बलिङमा रिजन ढकालले चार विकेट लिएका थिए ।
आजको खेलमा चितवनको मुख्य भरोसा मिसारासहित डेभिड मलान, रवि बोपारा र कुशल मल्लको ब्याटिङमा हुनेछ । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, जर्ज मुन्से र विनोद भण्डारीको प्रदर्शन महत्त्वपूर्ण हुनेछ ।
हेड टु हेडमा सुदूरपश्चिम अगाडि छ । यी दुई टोलीबीच भएका तीन खेलमध्ये सुदूरपश्चिमले दुई र चितवनले एक खेल जितेका छन् । समूह चरणको भेटमा पनि सुदूरपश्चिमले चितवनलाई पाँच विकेटले हराएको थियो ।
चितवन पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा छ भने सुदूरपश्चिम लगातार तेस्रोपटक उपाधि भिडन्तमा स्थान बनाउने दाउमा छ । आजको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग खेल्नेछ ।

















प्रतिक्रिया