मधेस प्रदेशको बजेट १० वर्षयताकै उच्च रहेको मन्त्री लम्सालको दाबी


काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मधेस प्रदेशका लागि सरकारले पछिल्लो १० वर्षयताकै सबैभन्दा बढी बजेट विनियोजन गरेको दाबी गरेका छन्।

बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षमा स्थानीय तथा ग्रामीण सडक निर्माणका लागि मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी बजेट छुट्याइएको जानकारी दिए।

मधेसको विकासलाई प्राथमिकतामा राख्दै सडक, खानेपानी र अन्य आधारभूत पूर्वाधारमा लगानी बढाइएको उनको भनाइ थियो। उनले श्रमिकको आर्थिक अवस्था सुधार गर्न दैनिक ज्यालादरसमेत वृद्धि गरिएको उल्लेख गरे।

सडक सञ्जाल विस्तार, खानेपानीको पहुँच वृद्धि र आधारभूत पूर्वाधार निर्माणमार्फत मधेसको समग्र विकासलाई गति दिने सरकारको लक्ष्य रहेको मन्त्री लम्सालले बताए।