चुनावी हारबाट निराश नहुन एमाले कार्यकर्तालाई विद्या भण्डारीको आग्रह


काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय हुँदैमा निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्। राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै उनले निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने बताइन्।

विगतका सङ्घर्षबाट प्रेरणा लिएर कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै भण्डारीले पार्टी संगठनलाई एकताबद्ध र सुदृढ बनाउन आग्रह गरिन्। उनले निर्वाचनमा प्राप्त धक्कालाई अस्थायी भन्दै आगामी दिनमा जनताको विश्वास जित्नुपर्ने बताइन्।

भण्डारीले आफू कुनै पदका लागि नभई एमाले र कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पारिन्।

यसैबीच, उनले सरकारका गतिविधि निरङ्कुश र प्रतिशोधपूर्ण हुँदै गएको आरोप लगाउँदै फरक मत, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरिन्। संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि एमाले आन्दोलनमा उत्रिन तयार रहेको उनको भनाइ थियो।

उनले राजनीतिक दलहरूबीच संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनसमेत राजनीतिक सहमतिका आधारमा हुनुपर्ने बताइन्।