काठमाडौं । एनसेलले एक महिनाभित्रै आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ। पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक फोरजी नेटवर्क विस्तार र सेवा गुणस्तर सुधार गर्ने उद्देश्यले कम्पनीले थ्रीजी सेवा बन्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो।
एनसेलले आगामी पुस २ गतेदेखि थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने जनाएको छ। कम्पनीका अनुसार कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा बन्द भइसकेका छन्। अब बाँकी रहेका २ हजार १३७ वटा साइट पनि चरणबद्ध रूपमा बन्द गरिनेछन्।
एनसेलले थ्रीजी सेवा बन्द गर्न चार चरणको कार्ययोजना सार्वजनिक गरेको छ। जसअनुसार मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका साइट बन्द गरिनेछन्। मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइट बन्द हुनेछन्। त्यस्तै, मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी क्षेत्र तथा चितवनमा सेवा बन्द गरिनेछ। अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी साइट बन्द गरिने कम्पनीले जनाएको छ।
सन् २०१७ मा सुरु भएको एनसेलको थ्रीजी सेवा बन्द भएपछि ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत उच्च गुणस्तरको आवाजमा फोन गर्न र छिटो कल कनेक्सनको अनुभव लिन सक्नेछन्। भोल्टे सेवाबाट फोनमा कुरा गरिरहँदा पनि एकै समयमा फोरजी इन्टरनेट प्रयोग गर्न सकिनेछ।
यो सेवा प्रयोग गर्न ग्राहकसँग फोरजी सिम र भोल्टे सपोर्ट गर्ने मोबाइल हुनुपर्नेछ।
एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारले पुरानो प्रविधिको सट्टा नयाँ, छिटो र प्रभावकारी प्रविधिमा रूपान्तरण गर्न थ्रीजी सेवा बन्द गर्ने निर्णय गरिएको बताइन्। यसबाट सञ्चालन तथा मर्मतसम्भार खर्च घटाउनुका साथै फोरजी नेटवर्कलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
उनले थ्रीजी सेवा बन्द हुँदा कुनै पनि ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित नहुने पनि स्पष्ट पारिन्। फोरजीमा अपग्रेड नभएका ग्राहकले टुजी नेटवर्कमार्फत आधारभूत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।
एनसेलका अनुसार कम्पनीको फोरजी नेटवर्क हाल नेपालको करिब ९५ प्रतिशत जनसंख्याको पहुँचमा पुगिसकेको छ। यद्यपि, सक्रिय ग्राहकहरूमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन्।
थ्रीजी सेवा बन्द हुँदा ग्राहकलाई पर्न सक्ने असुविधा कम गर्न एनसेलले थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ। ग्राहकले नजिकैको एनसेल सेन्टर वा प्वाइन्ट अफ सेल्समा पुगेर आफ्नो सिम अपग्रेड गर्न सक्नेछन्। फोरजी सिम लिँदा सात दिन समयसीमा भएको २ जीबी डेटा पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।
थ्रीजी सेवा बन्द भएपछि उक्त फ्रिक्वेन्सी फोरजी नेटवर्कको क्षमता अभिवृद्धि, कनेक्टिभिटी सुधार र सेवा गुणस्तर बढाउन पुनः प्रयोग गरिनेछ। यसले भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक पूर्वाधार तयार गर्नसमेत सहयोग पुग्ने एनसेलको विश्वास छ।

















प्रतिक्रिया