डिजिटल सुरक्षालाई प्राथमिकता दिँदै सरकार अघि बढेको छ : मन्त्री तिमिल्सिना


काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल सुरक्षा, साक्षरता अभिवृद्धि र गलत सूचना तथा दुष्प्रचार नियन्त्रणका लागि सरकारले दीर्घकालीन योजनासहित काम गरिरहेको बताएका छन् ।

मन्त्रालयमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र युनेस्कोका प्रतिनिधिसँगको भेटमा उनले सुरक्षित, पहुँचयोग्य र समावेशी डिजिटल समाज निर्माण सरकारको प्राथमिकतामा रहेको बताए ।

मन्त्री तिमिल्सिनाले सूचना प्रमाणीकरण, व्यक्तिगत गोपनीयताको संरक्षण, बालबालिका तथा जोखिममा रहेका समुदायको डिजिटल सुरक्षा र भ्रामक सूचना पहिचान गर्ने राष्ट्रिय क्षमता विकासमा जोड दिए ।

भेटमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिले कोशी र मधेस प्रदेशमा डिजिटल तथा मिडिया साक्षरता अभिवृद्धि र स्थानीय तहको क्षमता विकासका कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए । साथै डिजिटल साक्षरता, सूचना पहिचान र सुरक्षित प्रविधि प्रयोगका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

डिजिटल सुरक्षाका लागि नीति, कानुन, संस्थागत संरचना र राष्ट्रिय क्षमता विकास आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले यस क्षेत्रमा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।