काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमण उपचार कठिन बनाउनुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाएको बताएकी छन् ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ का अवसरमा आयोजित कार्यक्रममा उनले औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताइन् ।
उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । साथै औषधिको नियामकीय निगरानी, खोप, सङ्क्रमण रोकथाम र सुरक्षित खानेपानी तथा सरसफाइलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
कार्यक्रममा मन्त्री मेहताले ‘नेपालका अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी सर्वेक्षण’ दस्तावेज सार्वजनिक गरिन् । उक्त अध्ययनले अस्पतालमा औषधि प्रयोगको अवस्था पहिचान गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाइन्छ ।

















प्रतिक्रिया