काठमाडौँ । जापानमा मस्तिष्कघात भएर ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएकी छन्। आर्थिक अभावका कारण जापानमा उपचार र नेपाल फर्किने प्रक्रिया कठिन बनेपछि उनलाई नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा नेपाल ल्याइएको हो।
सोमबार नेपाल आइपुगेकी विष्णुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा निःशुल्क उपचार सुरु गरिएको छ।
रोजगारी र उज्ज्वल भविष्यको खोजीमा जापान पुगेकी विष्णुलाई अचानक मस्तिष्कघात भएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो। आर्थिक समस्या र उपचारको कठिनाइका कारण उनलाई स्वदेश फर्काउनसमेत समस्या भइरहेको थियो। यस्तो अवस्थामा डा. शर्माको पहलमा उनको उद्धार गरी नेपाल ल्याइएको हो।
नेपाल एयरलाइन्सको विमानमार्फत सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी विष्णुलाई लिन डा. शर्मा केएमसीका विशेषज्ञ चिकित्सकको टोली र एम्बुलेन्ससहित विमानस्थल पुगेका थिए। विमानस्थलबाट उनलाई सिधै केएमसी शिक्षण अस्पताल पुर्याएर भर्ना गरिएको छ। अस्पतालले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी उपचार प्रक्रिया अघि बढाएको जनाएको छ।
नेपाल आइपुगेपछि विष्णुले आफू कहाँ रहेको भन्दै डा. शर्मालाई प्रश्न गरेकी थिइन्। जवाफमा डा. शर्माले उनलाई आफ्नै देशको काठमाडौँ मेडिकल कलेजमा आइपुगेको बताएपछि उनी भावुक बनेकी थिइन्।
डा. शर्माले अस्पतालबाट डिस्चार्ज नहुँदासम्म विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले बेहोर्ने बताएका छन्। चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उनले आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नहुने बताए।
डा. शर्मा काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य सेवामा सक्रिय रहँदै आएका छन्। उनले आर्थिक अवस्था कमजोर भएका तथा उपचार खर्च जुटाउन नसक्ने बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएका छन्। साथै, विपन्न, दलित तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यमा पनि उनी संलग्न छन्।
जापानमा ६ महिना कठिन स्वास्थ्य अवस्थासँग संघर्ष गरेपछि स्वदेश फर्किएकी विष्णु अहिले परिवारको साथमा केएमसीमा थप उपचार गराइरहेकी छन्।

















प्रतिक्रिया