काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई आधुनिक प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नयाँ आर्किटेक्चरमा आधारित प्रणाली सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ।
अद्यावधिक प्रणालीले स्वास्थ्य सेवा प्रदायकबाट प्राप्त उपचारसम्बन्धी दाबीको रुजु तथा मूल्याङ्कन छिटो र प्रभावकारी बनाउन सहयोग गर्नेछ। साथै, राष्ट्रिय परिचयपत्र प्रणालीसँग अन्तरआबद्धता कायम गरी बीमितको विवरणको वैधता र तथ्याङ्कको गुणस्तर सुधार गर्ने बोर्डको भनाइ छ।
नयाँ प्रणालीमा दाबीका त्रुटि तथा असामान्य विवरण पहिचान, बीमितको अभिलेख खोजी र सेवा प्रदायकको अवस्था अनुगमन गर्ने सुविधासमेत राखिएको छ। यसले सूचना सुरक्षा, प्रणालीको गति र विश्वसनीयता बढाउनुका साथै भविष्यमा कृत्रिम बुद्धिमत्तामा आधारित प्रविधि प्रयोग गर्ने आधार तयार गर्ने बोर्डले विश्वास लिएको छ।

















प्रतिक्रिया