इन्डोनेसियाको मिठाई कारखानामा भीषण आगलागी, तीन जनाको मृ-त्यु


जकार्ता । इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्। घटनामा चार जना घाइते भएका छन्।

स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो। जकार्ताबाट करिब ५० किलोमिटर पश्चिममा रहेको उक्त कारखानामा आगलागी हुँदा भवनको ठूलो भाग ध्वस्त भएको छ।

घाइतेलाई नजिकैका अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ। बेपत्ताहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। उद्धार अधिकारीहरूले खोजीका क्रममा सुरक्षालाई प्राथमिकता दिइएको बताएका छन्।

बान्तेन प्रान्तका गभर्नर आन्द्रा सोनीका अनुसार आगलागी हुँदा कारखानाभित्र करिब ६० जना रहेको अनुमान छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको स्थानीय विपद् व्यवस्थापन निकायले जनाएको छ।