चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा सुक्खा पहिरोको जोखिम न्यूनीकरण गर्न जोखिमपूर्ण ढिस्को काट्ने काम सुरु गरिएको छ। शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकेर निर्माण कार्य अघि बढाइएको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार एक्साभेटरलाई करिब १०० मिटर अग्लो डाँडामा पुर्याएर झर्न सक्ने जोखिमपूर्ण भाग काट्न थालिएको छ। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम भइरहेको छ।
निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार घोप्टेभिरको मुग्लिनतर्फको करिब १५० मिटर सडकखण्ड तीन मिटर चौडा बनाइनेछ। त्यसैगरी चुम्लिङटार र कुरिनटारबीचको डाहाकी खोलामा पनि सडक विस्तारको काम भइरहेको छ। दुवै स्थानमा एक्साभेटर र लोडर प्रयोग गरी भित्तो काट्ने काम भइरहेको उनले बताए।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँच दिनभित्र काम सक्ने गरी निर्माण कम्पनीलाई निर्देशन दिइएको बताएका छन्। झण्डै एक महिनादेखि घोप्टेभिरमा पटकपटक सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ। पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भइसकेको छ।

















प्रतिक्रिया