काठमाडौं । लोकप्रिय अभिनेता पल शाह र अभिनेत्री सनिशा भट्टराईको अभिनय रहेको नयाँ गीत ‘सुनबुकी फूल’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गरिमा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो।
गायिका मिलन नेवार र गायक मार्मिक लामाको स्वर रहेको गीतमा राजनराज शिवाकोटी र गोविन्द भट्टको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ। गीतको संगीत संयोजन बिजेश्वर राज तण्डुकार र सञ्जीव बराइलीले गरेका छन्।
देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा पल शाह र सनिशा भट्टराई मुख्य भूमिकामा देखिएका छन्। उनीहरूसँगै कलाकार पुकार भट्टराईको पनि अभिनय रहेको छ।
नेपाली मौलिक पहिरन, संस्कृति र सामूहिक नृत्यलाई प्राथमिकता दिइएको भिडियोमा पल र सनिषालाई आकर्षक जोडीका रूपमा प्रस्तुत गरिएको छ। परम्परागत नेपाली पहिरन र सांस्कृतिक परिवेशले भिडियोमा थप आकर्षण थपेको छ।
भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन्। सहायक कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ।
मेकअपमा दिपु पौडेल, ड्रेसमा सुजनी मल्ल ठाकुरी र आर्टमा जट्टा शंकरले काम गरेका छन्। भिडियोको पोस्टर विजय बस्यालले तयार पारेका हुन्।
लाटोकोसेरो फिल्म्सले पोस्ट प्रोडक्सन गरेको भिडियोमा विनोद पौडेल प्रोडक्सन म्यानेजर, लक्ष्मण पाण्डे स्टिल्स, हरि अधिकारी ग्रुप लिडर तथा राम तिमिल्सिना प्रोडक्सन हेडका रूपमा रहेका छन्।
पल शाह र सनिशा भट्टराईको जोडीलाई फेरि एकपटक म्युजिक भिडियोमा देखाइएको ‘सुनबुकी फूल’ लोक तथा नृत्यप्रधान गीत रुचाउने दर्शकका लागि नयाँ सांगीतिक प्रस्तुति बनेको छ। निर्माण पक्षले गीतको अडियो तथा भिडियो अनधिकृत रूपमा डाउनलोड गरी अन्य प्लेटफर्ममा पुनः अपलोड नगर्न आग्रह गरेको छ।

















प्रतिक्रिया