काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा चर्को बहस भएको छ। कार्कीका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले सरकारको निर्णय गैरकानुनी, स्वेच्छाचारी र प्रहरी ऐनविपरीत रहेको दाबी गर्दै बदर गर्न माग गरेका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भएको सुनुवाइमा कार्कीका कानुन व्यवसायीहरूले उनको बाँकी कार्यकाल र कानुनी अधिकारको विषयलाई मुख्य आधार बनाएका छन्।
बहसको सुरुवात गर्दै अधिवक्ता टीकाबहादुर कुँवरले दानबहादुर कार्कीको कार्यकाल अझै १८ महिना बाँकी रहँदै सरकारले नियोजित रूपमा उनलाई आईजीपी पदबाट हटाएको जिकिर गरे। प्रहरी ऐनको पालना नगरी र कार्कीको सहमतिबिना अर्को पदमा खटाउने निर्णय गरिएको उनको भनाइ थियो।
अधिवक्ता कुँवरले २०८२ मङ्सिर २२ गते हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतले स्थापित गरेको नजिरसमेत स्मरण गराए। निश्चित अवधिका लागि नियुक्त पदाधिकारीलाई कानुनी प्रक्रिया र सहमतिबिना स्वेच्छाचारी वा प्रतिशोधपूर्ण ढङ्गले हटाउन अथवा अर्को निकायमा सरुवा गर्न नमिल्ने सिद्धान्त सर्वोच्चले स्थापित गरेको उनको तर्क थियो।
‘कार्कीलाई प्रहरी ऐनको दफा १० अनुसार मात्रै हटाउन पाइन्छ,’ कुँवरले भने, ‘सरकारलाई हटाउन मन लाग्यो भनेर कुनै पद सिर्जना गरेर हटाउन मिल्दैन। मन्त्रिपरिषद्ले निर्णय गर्दा खटाउने भनियो, तर उनलाई महानिरीक्षक पदबाट हटाइयो।’
त्यस्तै, अधिवक्ता माधवकुमार बस्नेतले कार्कीलाई अर्को ठाउँमा खटाउने निर्णय गरे पनि उनको साविकको पद यथास्थितिमा रहने भएकाले सरकारको निर्णय प्रथम दृष्टिमै बदरभागी रहेको तर्क गरे। अर्को पद सिर्जना गरेर नियुक्ति गर्ने सरकारको निर्णय कानुनी रूपमा गलत रहेको उनको दाबी थियो।
बहसका क्रममा वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले भने सरकारको निर्णयमाथि गम्भीर कानुनी प्रश्न उठाए। प्रहरी महानिरीक्षक सरकारले आफूखुसी जहाँ खटायो त्यहीँ जाने पद नभएको उल्लेख गर्दै उनले निश्चित पदावधिको कानुनी व्यवस्थालाई सरकारले बेवास्ता गर्न नमिल्ने बताए।
उनले प्रश्न गरे, ‘सरकारले हटाएको होइन, खटाएको भनेको छ। त्यसो भए नेपालको कानुनले दुई जना आईजीपी हुने व्यवस्था गरेको छ ?’
उनले सरकारको निर्णय विधिको शासनविपरीत रहेको जिकिर गर्दै ‘सुरेश यादव विरुद्ध नेपाल सरकार’ मुद्दामा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले दिएको नजिर पनि प्रस्तुत गरे। कानुनले निश्चित पदावधि तोकेको पदबाट अवधि पूरा नहुँदै हटाउनुपरे स्पष्ट, वस्तुनिष्ठ र उचित कानुनी आधार तथा कारण खुलाउनुपर्ने उनको तर्क थियो।
वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पनि संसद्ले बनाएको कानुनअनुसार प्राप्त आईजीपी पदबाट हटाएर राजनीतिक नियुक्तिको पदमा पदस्थापन गर्नु गलत भएको बताए। उनले यसअघि सर्वोच्च अदालतले अच्युतकृष्ण खरेलको मुद्दामा प्रतिपादन गरेको नजिरसमेत उल्लेख गरे।
कुनै गल्ती नगरेको व्यक्तिलाई सरकारले स्वेच्छाचारी ढङ्गले पदबाट हटाउन मिल्ने कि नमिल्ने भन्ने विषय अदालतले गम्भीरतापूर्वक हेर्नुपर्ने उनको भनाइ थियो।
शाक्यले खराब आचरण, शान्ति सुरक्षा कायम गर्न नसकेको अवस्था वा संगठनलाई हानि पुर्याएको अवस्थामा कानुनी प्रक्रिया पूरा गरी स्पष्टीकरणको मौका दिएर मात्र पदबाट हटाउन सकिने तर्क गरे। तर कार्कीको हकमा त्यस्तो प्रक्रिया नअपनाइएको उनको दाबी थियो।
‘सरकारले प्रहरी ऐनमा फ्रड गरेको छ,’ उनले भने, ‘उहाँलाई कतै खटाइएको भने पनि यथार्थमा बर्खास्ती नै गरिएको हो।’
त्यसैगरी, वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेलले सरकारले कुन कानुन र कुन दफामा टेकेर दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा खटाएको हो भन्ने स्पष्ट नखुलाएको भन्दै तत्काल अन्तरिम आदेश जारी गर्न माग गरे। सरकारको निर्णय स्वेच्छाचारी रहेको उनको जिकिर थियो।
अब सर्वोच्चको निर्णयप्रति चासो
दानबहादुर कार्कीका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले सरकारको निर्णयले प्रहरी ऐन, निश्चित पदावधि र विधिको शासनको सिद्धान्त उल्लङ्घन गरेको जिकिर गरेका छन्।
विशेषगरी, आईजीपी पदबाट हटाएको नभई अर्को जिम्मेवारीमा खटाएको भन्ने सरकारको व्याख्यामाथि कानुन व्यवसायीहरूले प्रश्न उठाएका छन्।
अब सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्छ वा गर्दैन भन्ने विषयले यस प्रकरणको आगामी कानुनी बाटो तय गर्नेछ। प्रहरी संगठनको नेतृत्व र सरकारी निर्णयको वैधानिकतासँग जोडिएको यो मुद्दालाई चासोका साथ हेरिएको छ।

















प्रतिक्रिया