काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी भक्तपुरका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीलाई हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सरकारको कदम निन्दनीय रहेको बताउँदै भूमिहीन दलित र सुकुमबासीको आवास सुनिश्चित गरेर मात्रै व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।
भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ। प्रशासनले घरभाडाबापत सरकारले उपलब्ध गराउने १५ हजार रुपैयाँ लिएर बाहिरिन भनेको छ।
आङ्देम्बेले यस्तो निर्णय संविधानको धारा ३७ मा व्यवस्था गरिएको आवासको हकविपरीत रहेको जिकिर गरेका छन्। उनले होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिन र प्रभावित परिवारको सुरक्षित तथा दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेका छन्।



















प्रतिक्रिया