निखिल र वर्षाको ‘कस्तुरी’को अन्तिम चरणको छायाङ्कन सुरु


काठमाडौं । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘कस्तुरी’को अन्तिम चरणको छायाङ्कन सुरु भएको छ। निर्माण टिमका अनुसार शुक्रबारदेखि काठमाडौंमा चलचित्रको बाँकी छायाङ्कन सुरु गरिएको हो।

चलचित्रको करिब ९० प्रतिशत छायाङ्कन यसअघि नै सम्पन्न भइसकेको छ। अब बाँकी १० प्रतिशत छायाङ्कन पनि चाँडै सक्ने योजनासहित निर्माण टिम काममा जुटेको छ। प्रतिकूल परिस्थितिका कारण केही समय ढिलाइ भएको चलचित्रको छायाङ्कन अब तीव्र गतिमा अघि बढ्ने निर्माण पक्षले जनाएको छ।

ऋत बोहोराको निर्देशन रहेको चलचित्रमा निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमको अभिनय रहेको छ। क्यामियो भूमिकामा गौरव पहारी र हेना नगरकोटी पनि देखिनेछन्।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको पटकथा निर्देशक बोहोरा स्वयंले लेखेका हुन्। चलचित्रका निर्माता धिरजकुमार अग्रवाल र सह-निर्माता अञ्जली चौधरी हुन्।

चलचित्रमा आलोक शुक्लाको छायाङ्कन, ललित विष्टको सहायक निर्देशन र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको छ। निर्माण व्यवस्थापनको जिम्मेवारी दिलीप पन्तले सम्हालेका छन्।