काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ फेम निर्देशक सरोज पौडेल निर्देशित नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले चार मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले प्रेम, पारिवारिक सम्बन्ध र तत्कालीन नेपाली समाजको सामाजिक परिवेशलाई प्रस्तुत गरेको छ। विशेषगरी प्रेममा कौडाका कारण उत्पन्न हुने परिस्थितिले दुई प्रेमीको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई ट्रेलरमा रोचक ढंगले देखाइएको छ।
पिरियड ड्रामाको जनरामा निर्माण भएको चलचित्रले तत्कालीन नेपाली समाजमा पुरुषप्रधान सोच र पितृसत्तात्मक व्यवस्थाका कारण महिलाले भोग्नुपरेका विभेद, पीडा र बाध्यतालाई चित्रण गर्ने संकेत ट्रेलरले गरेको छ।
ट्रेलरमा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन्। विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन्। बाबुराम र लक्ष्मीको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कुन मोडमा पुर्याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ।
‘पूर्णबहादुरको सारंगी’बाट दर्शकमाझ स्थापित विजय बराल र निर्देशक सरोज पौडेलबीचको पुनः सहकार्यलाई पनि चलचित्रको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ। यसपटक फरक समय र परिवेशको कथा लिएर उनीहरू दर्शकमाझ आउँदैछन्।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन्।
चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह-निर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता छन्। दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। चलचित्रमा प्रशान्त सिवाकोटीको सङ्गीत रहेको छ।
यसअघि सार्वजनिक टिजर तथा गीतबाट चर्चा बटुलेको ‘सिन्दुरे जात्रा’ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ भने बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन्।

















प्रतिक्रिया