स्थानीय निर्वाचनको तयारीमा जुट्न कांग्रेस कार्यकर्तालाई महामन्त्री संग्रौलाको निर्देशन


काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले आगामी स्थानीय निर्वाचनको तयारीमा अहिलेदेखि नै जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्। उनले संगठन सुदृढीकरण, जनजीविकाका सवाल उठाउने र सरकारका गतिविधिमाथि सशक्त खबरदारी गर्नुपर्ने बताएकी छन्।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै संग्रौलाले निर्वाचन आयोगले कांग्रेसको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक गरिसकेको अवस्थामा आन्तरिक विवादमा अल्झिनुको साटो संगठन विस्तारमा केन्द्रित हुनुपर्ने बताइन्। पार्टीको आधिकारिकताको सन्देश देशभरका ६ हजार ७४३ वटै वडा तथा बुथ तहसम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ।

उनले आगामी निर्वाचनलाई लक्षित गर्दै बुथ समिति अद्यावधिक, क्रियाशील सदस्यता नवीकरण तथा वितरण पारदर्शी बनाउन र लोकप्रिय, स्वच्छ छवि भएका उम्मेदवार छनोटको आधार तयार गर्नुपर्नेमा जोड दिइन्। पार्टीको निर्णयविरुद्ध विद्रोही उम्मेदवारी दिने तथा असहयोग गर्नेमाथि अनुशासनात्मक कारबाही गर्नुपर्ने पनि उनले बताइन्।

संग्रौलाले बाढीपहिरो प्रभावित र भूमिहीन सुकुम्बासीको पुनःस्थापना, सुरक्षित आवास तथा जीविकोपार्जनको सुनिश्चितताका लागि सरकारलाई दबाब दिनुपर्ने बताइन्। साथै, प्रेस स्वतन्त्रता, विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यतामाथि हस्तक्षेप भएको आरोप लगाउँदै सरकारका गतिविधिमाथि संसद् र सडक दुवैबाट खबरदारी गर्नुपर्ने धारणा राखिन्।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका क्षेत्रमा गरेका काम जनतामाझ पुर्‍याउँदै आगामी पाँच वर्षको स्पष्ट नीति तथा कार्ययोजनासहित निर्वाचनमा जानुपर्ने उनको भनाइ छ।