‘सरकार चलाइरहनुभएको छ कि गुण्डाराज ?’ प्रधानमन्त्री बालेनलाई प्रदीप पौडेलको कडा प्रश्न


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेलभित्र रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर बयान लिन खोजिएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् ।

शनिबार काठमाडौं क्षेत्र नं. ६ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले सरकार गठन भएको आठ महिनामै राज्यसत्ताको दुरुपयोगका घटना दोहोरिन थालेको आरोप लगाए ।

उनले प्रधानमन्त्री शाहलाई सीधै प्रश्न गर्दै भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं सरकार चलाइरहनुभएको छ कि गुण्डाराज गरिरहनुभएको छ ? सरकार यस्तो हुन्छ ?’

जेलभित्र रहेका व्यक्तिलाई ज्यानको धम्की दिएर बयान दिन बाध्य पारिएको दाबी गर्दै उनले यस्तो कार्य प्रधानमन्त्रीको निर्देशनमा भएको हो वा मातहतका कर्मचारीले स्वेच्छाले गरेका हुन् भन्ने स्पष्ट पार्न चुनौती दिए ।

‘भन्नेले आफैं भनेको हो भने त्यसलाई कारबाही गरेर निकाल्नुस् । तपाईंकै निर्देशनमा भएको हो भने यो त सरकारमा बसेर गर्न मिल्छ र ?’ उनले प्रश्न गरे ।

पौडेलले यो कुनै एउटा घटनामा मात्रै सीमित नभई राज्यशक्तिको दुरुपयोग गर्दै घटनाहरू दोहोरिरहेको आरोपसमेत लगाए । कसैलाई फसाउन वा राजनीतिक तथा व्यक्तिगत हिसाब मिलाउन जेलभित्र रहेका व्यक्तिलाई धम्की दिएर बयान लिने र प्रक्रियागत औपचारिकता पूरा गर्ने काम भइरहेको उनको दाबी छ ।

त्यस्तै, जेलभित्र रहेका व्यक्तिको मोबाइल नियन्त्रणमा लिएर आफूलाई आवश्यक पर्ने सामग्री राख्ने र अनावश्यक सामग्री मेटाउने गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘मोबाइल खोसेर आफूलाई चाहिने राख्ने, नचाहिने मेट्ने ? यस्तो गर्न मिल्छ ? यस्तो त अहिलेसम्म कहिले पनि हुँदैनथ्यो,’ पौडेलले भने ।

उनले सरकार सञ्चालनका नाममा राज्यका निकाय र शक्तिको दुरुपयोग स्वीकार्य नहुने संकेत गर्दै प्रधानमन्त्रीलाई आफ्नै मातहतका निकायको कार्यशैलीप्रति जवाफदेही बन्न चुनौती दिएका छन्।