Logo

हस्पिटलको बेडबाट डाक्टर उपेन्द्र देवकोटाले दरबार हत्याकाण्डको बारेमा खोले मुख, जुन कुरा अहिले सम्म बाहिर आएकै छैन !

दरबार हत्याकाण्डमा हामीले थाहा पाएका कुराहरु धेरैसँग भन्दै हिँड्ने गर्नुहुँदैन हामीले भनेर श्रीमतीलाई भनें। मलाई अनौठो लागिरहेको थियो। मैले दुईतीनवटा कुरा सोचिहालेँ।

एउटा कुरो यति कम्प्लिकेटेड भएपछि प्रेसले पनि, राजपरिवारले पनि आफ्नो प्यासेन्टको उपचारको बारेमा जान्न चाहन्छ, एक नम्बर। दुई नम्बर ‘दे वान्ट ट्रिटमेन्ट द बेस्ट फर देयर प्यासेन्ट।’ जुन एकदम जायज हो।

सेकेन्ड ओपिनियन पनि उनीहरुले खोज्छन्। त्यो मेरो मनमा लागिरहेको थियो। म भोलिपल्ट उठेर नुहाइधुवाइ गर्न खोज्दै थिएँ, आर्मी अस्पतालबाट फोन आयो– डाक्टरसाब् तपाई चाँडै आएर असेस गर्नुपर्‍यो, यहाँ युवराजधिराजको अवस्था राम्रो छैन।

अर्को ब्रेनडेड नै हो भने भ्यान्टिलेटर बन्द गर्नुपर्ने पो हो कि? त्यसो भएर तपाई चाँडो आएर असेस गरिदिनु पर्‍यो फेरि एकपटक युवराजधिराजलाई भनेर फोन आयो। त्यो फोन आउने बित्तिकै मैले तत्कालै बिर्सेको एउटा कुरो सम्झेँ। दीपेन्द्रले गरेको हो भन्ने गाइँगुइँ हल्ला हुन थालिसकेको थियो।

त्यसो हो भने टक्सिकको प्रभावमा गरेको हो कि हैन भनेर पत्ता लगाउन जरुरी हुन्छ। त्यो पत्ता लगाउन ब्लडटेस्ट बाहेक अरु उपाय हुँदैन। यो अवस्थामा, यस्तो सामाजिक र राजनीतिक परिवेशको बेलामा यो बिरामीको ड्रग्स टेस्ट गर्नु पर्‍यो, ब्लड चाहियो भनेर माग्दाखेरि दिने सम्भावना भएन। त्यो सोझै माग्न सक्ने कुरा पनि भएन।

अस्पतालबाट फोन आउनेबित्तिकै मैले त्यहाँको टेक्निसियनलाई फोन गरेँ– उहाँलाई फेरि ब्लड ट्रान्सफ्युजनको आवश्यकता पर्न सक्छ, अरु अरु पनि चाहिन सक्छ, त्यस कारणले अहिले उहाँको २० एमएल ब्लड निकालेर सेन्टिफ्युज गरेर सेरमचाहिँ फ्रिज गरिदिनुस् है, त्यो पछि चाहिन सक्छ भनेँ मैले। किन कसो भन्दै भनिन।

ब्लड बैंकको सर्भिस आर्मी अस्पतालमा थियो। आर्मीका मान्छे अनुसाशित हुन्छन्, गरिहाले, मेरो साइन्टिफिक थिंकिङचाहिँ भोलि कसैले प्रश्न गर्‍यो भने टक्सिकोलोजिकल स्क्रिनिङ पनि हामी गर्न सक्नुपर्छ भन्ने थियो। त्यो चिकित्सकको टिमका अरु डाक्टरलाई र खगेन्द्र डाक्टर साहेबलाई पनि भनिनँ मैले।

मेरो प्लानचाहिँ त्यही थियो। मलाई प्राइमरी रेस्पोन्सिबिलिटी युवराजको हेर्न दिएपछि सबै कुरा गर्नुपर्‍यो भनेर त्यो भएको थियो। अहिले पनि गएर कसैले खोज्यो भने सेरम प्रिजमड अवस्थामा हुनुपर्छ आर्मी अस्पतालको स्टोरमा। धेरै जनालाई थाहा पनि छैन।

किनकि त्यो स्पेसिफिक रिक्वेस्टमा गरिएको थियो। यतातिर त हुँदैन टोक्सिकोलोजिकल स्क्रिनिङ। मलाई बेलायतमा हुन्छ भन्ने थाहा थियो, बेलायतमा बस्ने एकजना डाक्टरलाई फोन गरेर यताको परिस्थिति नबताई त्यहाँ टक्सिकोलोजिकल स्क्रिनिङ कुन अस्पतालमा गर्छ? कतिजति पैसा लाग्दो रहेछ मलाई बुझेर पठाइदिनुस् न भनेँ।

सबै ठाउँमा हुँदैन। लन्डनको पनि कुन हस्पिटलमा गर्छ मलाई थाहा थिएन। उहाँले १०/१५ मिनेटमै मलाई फोन गर्नुभो। एक सय ३० पाउण्ड पर्दोरहेछ, गाइल्स हस्पिटलमा गर्दो रहेछ, जरुरत परेको खण्डमा गर्न सकिन्छ भन्नुभो। त्यसपछि मैले आफ्नो तयारी पूरा गरेजस्तो लाग्यो। त्यत्तिकैमा आर्मीको मोटर आइपुग्यो। अनि आर्मी अस्पताल गएँ शनिबार बिहान। सबै टिमका डाक्टरहरु जम्मा भैसकेका थिए।

हामीले सरसर्ती आ–आफ्ना बिरामी हेर्‍यौँ। अनि ठूलो हलमा गएर सबै बिरामीहरुको सामूहिक कन्फ्रेन्स गर्ने चलन थियो, गरियो।

त्यसपछि त्यो दिनको प्लान, के ट्रिटमेन्ट गर्ने, कस्तो ट्रिटमेन्ट गर्ने, आफ्नो जिम्मामा रहेकाहरुका लागि छलफल हुन्थ्यो। अरुले केही सजेस्ट गर्न मन लागे, गर्‍यो, हैन भने त्यो ट्रिटमेन्टलाई ओके भनेर जाने चलन थियो। शनिबार त्यही भयो। त्यो राउण्ड सकिने बित्तिकै मैले आफ्नो अर्को तयारी गरेँ।

खुरुखुरु त्यहाँबाट वीर हस्पिटल गएँ। त्यो बेला मसँग इमेलको सुविधा त्यहाँ मात्रै थियो। त्यहाँ एउटा चिठी ड्राफ्ट गरेँ। त्यो चिठीचाहिँ युनिभर्सिटि अफ लन्डनको न्युरोसर्जरीको चिफ प्रोफेसर टोनी बेललाई थियो।

उहाँलाई सबै कुरा भनेँ– हाम्रो राजाको यस्तो दुर्घटना भयो, मैले यस्तो अप्रेसन गरेर मेरो बिरामीलाई राखेको छु तपाईँको केही अल्टरनेट भिउज, ओपिनियन, सजेसन केही छ कि? यसरी टोनी बेललाई अनुरोध गरेर अफिसियल दोस्रो ओपिनियन मागेँ।

उहाँले इमेलमा तत्कालै जवाफ दिनुभो। तर, अफिसियल ओपिनियनको चिठीचाहिँ भोलिपल्ट आइपुग्यो। त्यो सेकेन्ड ओपिनियनको पनि तयारी भयो।

त्यसको भोलिपल्ट आइतबार बिहानै अस्पताल पुग्छु त, त्यहाँ अर्कै खालको सन्नाटा छ। डाक्टरहरु जम्मा हुन थालिसकेका बिहान साढे आठ बजेतिर। डाक्टर मृगेन्द्रराज पाण्डे र डाक्टर खगेन्द्रबहादुर दुईजनाचाहिँ एकदम सिरियस मुडमा हुनुहुन्थ्यो। पुग्नेबितिकै मलाई बोलाउनुभो, ‘डाक्टरसाब् तपाईँसँग छुट्टै कुरा गर्नुपर्नेछ’ भन्नुभो। मैले के भो डाक्टरसाब् भन्दा अर्को कोठामा गएर कुरा गरौं न भन्नुभो।

अझ गोप्य कोठामा गएपछि भन्नुभयो। के भएछ भने शनिबार म त आफ्नो बिरामी हेरेर आइहालेँ। तर म स्पष्ट थिएँ, जुन तरिकाले उहाँहरुले बिरामीहरुको उपचार फलानाले गर्ने फलानाले गर्ने भनेर भाग लगाउनु भो, त्यो गलत हो।

उहाँहरुले के विचार गर्नु भा’रछ भने दीपेन्द्रको न्युरोसर्जिकल हेर्न लगाएपछि अरु यस्तै समस्याका बिरामी हेर्न यसो समावेशी हिसाबले टिचिङका डाक्टर पनि ल्याउनु पर्‍यो। धीरेन्द्रलाई टिचिङको न्यूरो सर्जनको जिम्मा लगाइएको थियो।

शनिबार बल्ल थाहा पाएछन् उनीहरुले, धीरेन्द्रको खुट्टा नचलेको। टुलुटुलु हेर्ने, हातसात चलाउने, यताउता गर्ने अवस्था थियो। हुन त भेन्टिलेटरमा राखिएको थियो उनलाई। तर, खुट्टा चलाउँदैनन् भन्ने शनिबार मात्र थाहा पाएछन्। बुलेट चेस्टबाट गएको छ। डाक्टरले थाहा पाए, मेडिकलका अरुले पनि थाहा पाए।

हुँदाहुँदै परिवारले थाहा पाएर के गर्दैछौ त, किन भयो, किन अहिले आएर मात्रै थाहा भयो भनेर गम्भीर प्रश्न गरिसकेपछि त्यहाँका डाक्टरलाई बडो गाह्रो परेछ। उहाँहरुले सिटिस्क्यान गर्न पनि सुविधा छैन, एक्सरे गर्न पनि आइसियुमा राखेको मोटो बिरामीलाई तल झार्न मिलेन।

केही गर्न नसकेर उहाँहरु चुप लागेर बस्नु भएछ। उता बिरामीका परिवार एजिटेड हुनु स्वभाविकै थियो। हुने पनि भयो, परिवारको बाँचेको मध्यमा अधिराजकुमार पारसले रिसाउँदै भन्नुभो– के छ प्लान, किन पत्ता लागेन?

यस्तै परिस्थितिमा आइतबार बिहान मलाई छुट्टै लगेर खगेन्द्र र मृगेन्द्र डाक्टरले के गर्न सकिन्छ डाक्टरसाब् भन्नुभो। हिजो पत्ता लाग्नेबित्तिकै किन खबर नगरेको भनेँ मैले।

खगेन्द्रले भन्नुभो, ‘अब डाक्टरसाबलाई पहिल्यै दीपेन्द्रको जिम्मा लगाइसकेपछि लोड धेरै होला भनेर धीरेन्द्रलाई टिचिङको न्यूरो सर्जनहरुलाई हेर्न भन्या ह। एक जना न्यूरोसर्जन पहिल्यै संलग्न भएका कारण तपाईँलाई बोलाउन जरुरी महसुस गरिएन।’

यहाँनेर तपाईँहरुलाई मेलै दम्भ देखाएको जस्तो लाग्ला। तर मैले भनेको कुरा यही हो, ‘ए डाक्टरसाब, यो देशको इज्जतको कुरा हो। देशभरिका मान्छेले हेरिराखेको घटना हो यो, यस्तो अवस्थामा भागबण्डा लगाएर एउटालाई यसले, अर्कालाई यसले हेर्ने भन्नु नै मुर्खता हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको घटनामा तपाईँले ‘ए’ न्यरो सर्जन बोलाएर हुँदैन, ‘द’ न्यूरो सर्जन चाहिन्छ। ल अब म संलग्न भएँ, डन्ट वरी।’

मेरो घमण्ड बोल्या हैन तर ‘ए’ र ‘द’ न्यूरो सर्जनमा फरक हुन्छ। तपाईंले देशभित्रको उत्कृष्ट त दिनैपर्छ, आवश्यक पर्दा बाहिरबाट झिकाउनु पर्छ, मैले भनेँ। दीपेन्द्रलाई धेरै हेर्नु पर्ने थिएन। एक राउण्ड हेरेपछि फर्केर गएँ। धीरेन्द्रलाई राखेको कोठामा पुगेर त्यहाँका डाक्टरलाई माथि एक्सरेमा बोलाएँ। उहाँको एक्सरे गर्नुपर्‍यो, शरीरको यो भागको, तपाईँसँग पोर्टेबल एक्सरे छ कि छैन भनेर सोधेँ।

‘पोर्टेबल एक्सरे एकदम पुअर क्वालिटीको छ, त्यसको क्षमता नै पुग्दैन। उहाँ यति मोटो हुनुहुन्छ, माथि लान पनि मिल्दैन। धीरेन्द्रको गर्धनको फेद र छातीको माथिबाट बुलेट गएको छ। त्यो एरियाको एक्सरे गर्नलाई असाध्यै पावरफुल एक्सरे चाहिन्छ। हाम्रो पोर्टेबलले भ्याउँदैन’ भन्नुभो।

त्यसपछि मैले अर्कैखालको एक्सरे ‘सिआर्म’ छ कि छैन भनेर सोधेँ। सिआर्म छन त छ, इन्सटल गर्दा बिचमा समस्या आएर तल त्यतिकै राखेको छ मेसिन भने। त्यो कम्पनीको सप्लायर्सलाई बोलाएर तत्काल इन्स्टल गर्न भनेँ मैले। हामीले गरेरै छाड्यौं। एक डेढघण्टाभित्रमा सिआर्म मेसिन इन्स्टल गरेर धीरेन्द्रको एक्सरे गर्‍यौँ। त्यहाँ एक्सरे मात्रै गर्ने सम्भावना थियो। त्यो बुलेटले गर्दा एमआरआई गरेर कामै छैन। बुलेटको फ्र्यागमेन्टले एमआरआईमा केही पनि देखिँदैन।

एक्सरे गरेर हेर्दाखेरि बुलेटका टुक्राहरु छरपस्ट तर मेरुदण्डको हड्डीचाहिँ केही पनि नभएको। मेरो लागि त्यसको इम्प्लिकेसन एकदम क्लिअर थियो। यदि हड्डी पनि भाँचिएर प्यारालाइज भएको हो भने अप्रेसन गर्दा फाइदा हुन सक्थ्यो, भाँचिएको हड्डीलाई ठाउँमा ल्याइदिएर यताउता गर्‍यो भने। तर हड्डी भाँचिएको छैन, नजिकबाट गएको बुलेटको कारणले इन्जुरी भएको छ भने त्यसले स्पाइनल कर्डलाई पूरै ड्यामेज गरेको हुन्छ। त्यसलाई हामी क्याबिटेसन इन्जुरी भन्छौँ।

फ्याक्चर नदेखेपछि त्यो क्याबिटेसन इन्जुरी हो भन्न जसले पनि सक्छ। मैले एक्सरे गरिसकेपछि मृगेन्द्रराज र खगेन्द्र डाक्टरसाबले अब परिवारसँग कुरा गर्नुपर्छ भन्नुभो। अब म कुरा गर्छु भन्दै परिवारसँग कुरा गर्न तयार भएँ। यहाँ यस्तो दुर्दशा देखेपछि परिवारले सेकेन्ड ओपिनियनको लागि सिंगापुरका न्युरो सर्जनसँग कुरा गरिसकेका रहेछन्।

बचेको परिवारमा त्यो बेलाको सबैभन्दा जिम्मेवार व्यक्ति अधिराजकुमार ज्ञानेन्द्र भा’ भएर उहाँसँग कुरा गरेँ पहिला। ‘भाइको के भएको हो? हाउ बेस्ट कुड वी हेल्प हिम?’ सोध्नु भो। भाइको के भएको हो भनेर उहाँ चिन्तित हुनुहुन्थ्यो। मैले वास्तविकता बताएँ। उहाँको चोट गम्भीर छ। यो बुलेटले गरेको क्याबिटेसन इन्जुरी हो। यसले स्पाइनलकर्डलाई नछेडिकन नजिकबाट गएको तर बुलेटको भाइब्रेसनले पूरा कर्ड ड्यामेज गरेको छ। यसलाई ठीक गर्न सकिन्न। प्यारालाइसिस रिकभर हुने सम्भावना छैन। यो मेरो ओपिनियन हो। अर्को ओपिनियन पनि लिने हो भने म त्यो गर्न सक्छु भनेँ। बिरामी नै बाहिर लग्नु पनि अर्को विकल्प हुनुसक्छ, मैले प्रस्ट भनें, ‘यो क्याबिटेसन इन्जुरी हो, रिकभरेवल हैन। यसको कुनै सर्जरी छैन। अरु विकल्प पनि छैन। तर चाहिन्छ भने सेकेन्ड ओपिनियन पनि लिइदिन्छु म।’

त्यसपछि अधिराजकुमार ज्ञानेन्द्रले जवाफ दिनुभो, ‘म आमासँग पनि कुरा गर्छु अनि तपाईँसँग फेरि कुरा गर्छु।’ त्यसपछि उहाँहरु र रानी रत्नबीच कुरा भएको हुनुपर्छ। त्यसको एक घण्टापछि उहाँसँग मेरो फेरि कुरा भो। उहाँ प्रस्ट हुनुहुन्थ्यो, कुनै द्विविधा थिएन। ‘डाक्टर तपाईले गरेको असेसमेन्टमा हामीलाई विश्वास छ, यो हामी एक्सेप्ट गर्छौं। र, सेकेन्ड ओपिनियन पनि हामीलाई चाहिँदैन।’

त्यसपछि त्यो च्याप्टर क्लोज भयो। मैले यहाँ एउटा कुरा भन्न खोजेको के हो भने राष्ट्रिय महत्वका विषयमा भागबण्डाको कुरा आउनु हुँदैन। त्यो गल्ती अहिलेसम्म पनि चलिरहेको छ। देशमा क्राइसेस हुँदाखेरि देशभित्रको सबैभन्दा राम्रो मान्छे जो हो उसैले लिड गर्नुपर्छ।

त्यो बेलामा सायद मेरो विकल्प कोही पनि थिएन होला। मलाई बाइपास गरेर अरुबाट ओपिनियन लिएर ट्रिटमेन्टमा भएको गल्ती या टीमवर्कलाई प्रोत्साहित गर्न बाधा आउनु हुँदैनथ्यो। यो हाम्रो चरित्रमा सुधार्नु पर्ने ठूलो पाटो हो। त्यसपछि दीपेन्द्रको भेन्टिलेटर अफ गर्ने लगायतका सबै कुरा अड्किएपछि सायद अब अन्त्य भैदिएकै राम्रो हुन्थ्यो होला भन्ने आम ओपिनियन बन्यो। मलाई रिक्वेस्ट आयो– ब्रेनडेड भएको अवस्था हो भने भेन्टिलेटर स्विचअफ गर्न सकिन्छ कि? मेरो कुरा क्लियर थियो त्यसमा। यस्तो केसलाई एक्स्पेडाइट गर्ने बाहिरतिर चलन छ।

तर, त्यो आधारमा अर्थात ब्रेनडेड केसमा भ्यान्टिलेटर स्विचअफ गर्न कानुनी आधार नेपालमा छैन। यति महत्वपूर्ण राष्ट्रिय विषयमा कानूनमा नटेकी मैले केही गर्न मिल्दैन। म गर्न सक्दिन, जसले गर्छ त्यो गैह्रकानुनी हुन्छ, मैले स्पष्टसँग भनेँ। अडान नै लिएँ।

त्यसको १६/१७ वर्षपछि र निरन्तरको संघर्ष या अभियानपछि नेपालमा एउटा स्पष्ट मान्यता तय भयो। त्यो बेलामा गर्नसक्ने कुरै थिएन। दीपेन्द्रको पनि गरिएन। त्यसपछि नेचुरल्ली ट्रिटमेन्ट गर्दै जाँदा जे हुन्छ हुन्छ भन्दाभन्दै उहाँको निधन भयो।

त्यसपछि पनि म त्यहाँ अरु बिरामीहरु हेर्न जान्थेँ। एकदिन बडा रोचक घटना भो। बिरामीको भाग लगाइदिसकेका। मेरो सिरियस बिरामी कोही बाँकी थिएनन् त्यतिबेला। धीरेन्द्रलाई पहिला नै स्पाइनल इन्जुरी भएको बेला हेरेको भएकाले उनलाई हेर्न म जाने गर्थेँ। १८/२० जना डाक्टर भएकाले सबैले सबै बिरामी हेर्ने कुरा भए। त्यो सकेर हामी माथि कन्फ्रेन्स हलमा आयौं। सबै बिरामीको कुरा हुँदै जाँदा धीरेन्द्रको कुरा आयो। त्यो बेला धीरेन्द्रलाई ३/४ जना क्षमतावान डाक्टरले नै हेर्नु भएको थियो।

क्रिटिकल केयरको एक्सपर्टहरु पनि इन्भल्ब हुनुभएको थियो। उहाँलाई हेर्ने टिम ठूलै थियो। त्यो दिन कन्फ्रेन्सको लागि मिटिङ हलमा आइसकेपछि त्यो टिमको डाक्टरहरुमध्ये धेरैले एक स्वरमा भन्नुभयो– ‘आज धीरेन्द्र इज अ बेटर, त्यसो भएर उहाँको ब्लड प्रेसर उठाउने औषधी बिस्तारै घटाउँदै जानु पर्ला।’

त्यो निर्णय भयो हाम्रो भने। सबैको प्रतिक्रिया ओके भन्ने नै भयो। मैले आफ्नो विवेकलाई धोका दिन सकिनँ। टाढैबाट हेरे पनि धीरेन्दलाई बढी सिरियस देखेको थिएँ मैले। यस्तो कुरामा छुचो हुन सबैभन्दा अगाडि छु। चुप लागेर बसेको भए पनि हुन्थ्यो। मैले भनेँ, ‘अँ हँ, नो नो नो। मेरो विचारमा धीरेन्द्र इज मोर सिरियस टुडे। मैले जाँच्न त जाँचिन, हेर्दाखेरि आइ फाउण्ड हिज लुक भेरी सिरियस टुडे।

यो अहिले औषधी घटाउने काम नगर्नुहोस्।’ त्यसपछि अर्को कुनाबाट डाक्टर श्यामबहादुर पाण्डेले पनि मेरो सपोर्टमा बोल्नुभो– मलाई पनि धीरेन्द्रको अवस्था सिरियस लाग्छ है, आज औषधि घटाउने काम नगरौं। डिबेट हुँदैथ्यो, त्यसैबिच आइसियुबाट कल आयो–तुरुन्त आउनुहोस् धिरेन्द्र हायज कोलाप्सड।

त्यसपछि सबै दौडियौं हामी। अझै बढी उहाँको टिमका डाक्टर दौडिए। यो एउटा घटना थियो। यसरी विस्तारै सिरियस बिरामीहरु मर्ने, कम सिरियसहरु बाँच्ने क्रम जारी थियो।

यो सँगै अब दरबारको इन्क्वाइरीको कुरा आउन थाल्यो। म मेडिकल कमिटीमै थिएँ। राउण्डको बेलामा अस्पताल गाकोबेला, म भित्रै थिएँ। अधिराजकुमार ज्ञानेन्द्रले सूर्यबहादुर थापा, माधव नेपाल, केशरजंग रायमाझीलगायत ३/४ जना मान्छेको अगाडि अब यो घटनाको छानबिन कमिटी बनाउनु पर्‍यो, तपाईँहरुले जिम्मेवारी लिनु पर्‍यो भन्नुभो। माधव नेपाल सहमति जनाएर निस्कनुभयो। वास्तवमा त्यसमा आफू छुट्न नहुने चाहना उहाँले नै राख्नुभएको हो। आयोग बन्ने निर्णय भइसकेपछि उहाँले त्यसको भोलिपल्ट नाइँ भन्नुभ। अनि नाइँ भनेको भोलिपल्ट मलाई खोज्नुभो।

मैले स्पष्ट भनेँ, म त अहिले डाक्टर हो, कसैलाई पनि व्यक्तिगत रुपमा भेट्दिन। यो घटनाबारे कुरा गर्न। तपाईँ मलाई भेट्न आउनु भो भने त्यसको अर्थ अर्कै हुन्छ। म तपाईँको घर गएमा अर्कै मतलब राख्छ।

त्यस कारण तपाईँलाई मसँग भेट्न मन लागेको छ भने ९ बजे वीर हस्पिटलमा आउनुस् भोलि, अफिसमा बसेर कुरा गरौँ भनेँ। उहाँ आउनुभो भोलिपल्ट। उहाँलाई लागेको थियो होला बोलाइसकेपछि डाक्टरले सबै कुरो भन्। मेरो अफिसमा उहाँ आएपछि ढोका बन्द गरेँ, चुकुल पनि लगाएँ। त्यसपछि सोधेँ माधवजीलाई, के थियो त अरु भनेर। उहाँले इसाराले दीपेन्द्रको एउटा गोली हो कि, दुईटा गोली हो भनेर सोध्नु भो। म भन्दिनँ भनेँ।

मैले स्पष्ट के भनेँ भने तपाईँ इन्क्वायरी कमिसनमा बसेर सोध्न आएको भए, तपाईँलाई भन्नु मेरो कर्तव्य हुन्थ्यो। तपाईँ इन्क्वायरीमा नभई एउटा व्यक्ति वा कुनै एउटा पार्टीको नेताको हैसियतले मात्रै सोध्नुहुन्छ भने तपाईँलाई नभन्नु मेरो कर्तव्य हुन्छ।

मैले भनेँ, ‘माधवजी तपाईँले यो आयोगमा नबसेर गल्ती गर्नुभो। सत्यतथ्य बाहिर ल्याउनलाई सहयोग पो गर्नुपर्छ त। सत्यतथ्य बाहिर आयो भने घाटा हुन्छ, नआए हल्ला गर्न पाइन्छ भनेर छोडेर हिँडेको त राम्रो हैन।’ त्यति चाहिँ मैले भनेको हो।

त्यहाँ बसेर सत्य तथ्य बाहिर ल्यायो भने नारा जुलुस लाउन पाइँदैन। आफू सत्तामा भएपछि मदन भण्डारी सम्बन्धी घटनाको छानविन किन नगर्‍या? त्यही त हो नि!

यसरी अरु पनि थुप्रै नेताहरु मलाई त्यहाँको जानकारी केही पाइन्छ कि भनेर सोध्न आउनु भयो। तर मैले सबैलाई हामी प्रोफेसनल हौँ, भन्न मिल्दैन भनेँ। जुन बेला छानबिन होला, त्यसबेला भनौंला भनेर चुप लागेर बसियो।

त्यसपछि मलाई चिनेजानेका जति थुप्रैले केही भनिहाल्छ कि भनेर जानकारीको लागि फोन गर्ने, आउने क्रम जारी रह्यो। मैले नभनेपछि कति रिसाए पनि होलान्। माधव नेपाललाई चाहिँ सरी भनेँ। उहाँले जसरी लिनुहुन्छ। उहाँ छानबिन समितिमा बस्नु हुने भो भन्दाखेरि हामीलाई पनि खुशी लागेको थियो।

राष्ट्रको चासोको विषयमा सत्यतथ्य बाहिर ल्याउनलाई उहाँहरु बसेको राम्रो हुने थियो। उहाँकै अनुरोधमा हो, राजा ज्ञानेन्द्रले त्या कन्सिडर गर्नुभाको पनि। त्यसपछि आफू बस्दिन भनेर छाडेपछि व्यक्तिगत रुपमा उहाँलाई पनि घाटा भयो। र, पार्टीलाई पनि घाटा गर्छ यस्तो कुराले। राज्य सञ्चालनका जिम्मेवार पार्टी र त्यसका नेताहरुको व्यवहार सधैं कन्सिस्टेन्ट हुनुपर्छ।

कति नेताहरु घरमा आउनु भो। मैले चियासिया ख्वाएर राम्रोसँग सत्कार गरेँ। ‘लौ त अब म अस्पताल जानुछ’ भनेर हिँड्ने गर्थें, घटनाबारे केही बोल्दै नबोलिकन।

उहाँहरुलाई नरमाइलो लाग्यो होला। माधव नेपालहरु दीपेन्द्रलाई भेट्न जाँदाखेरि अधिराजकुमार ज्ञानेन्द्रले उहाँहरुलाई चिनाउँदाखेरि उहाँहरुको हाउभाउ पनि देखेको थिएँ मैले। माधव नेपाल मलाई अस्पतालमा भेट्न आएको बेला त्यो पनि सम्झाएको थिएँ।

‘माधबजी तपाईँलाई त्यो पनि याद छ होला, त्यतिबेला त्यहाँ उपस्थित भएकामध्ये मरिचमान सिंह, सूर्यबहादुर थापा, केशरजंग रायमाझी भएकाबेला तपाईँलाई अधिराजकुमारले गरेको व्यवहार बुझ्नुभो? तपाईँलाई अरुलाईभन्दा आदरपूर्ण व्यवहार गरेको तपाईँले याद गर्नुभो होला।

‘त्यो त हो डाक्टरसाब’ भन्नुभो। अनि तपाईँ त्यति मर्यादित र त्यति विश्वासिलो व्यक्ति हुँदाहुँदै अहिले आएर पार्टीले मानेन भन्न सुहाउँछ? त्यति भनेँ उहाँलाई। गल्ती भो भन्नु भो। मलाई अहिले पनि लाग्छ त्यो एमालेकोतर्फबाट भएको गल्ती हो। उनीहरुले जिम्मेवारी लिएर अनुसन्धान पूरा गर्नुपर्थ्यो।

उपचार हुनेको उपचार भयो, अनि मर्ने मरिसकेपछि मेडिकल च्याप्टर क्लोज भयो।

साभार देश संचार

प्रतिक्रिया दिनुहोस्