काठमाडौं, असार २ । सामाजिक सञ्जालमा एउटा पुरानो भिडियो भाइरल बनेपछि त्यसलाई लिएर विभिन्न टिप्पणी र आलोचना भइरहेका बेला प्रतिनिधिसभा सदस्य माननीय सृष्टि भट्टराईले सार्वजनिक रूपमा आफ्नो धारणा राखेकी छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत जारी गरेको स्पष्टीकरणमा उक्त भिडियो हालको नभई धेरैअघि निजी रूपमा यात्रा गरिरहेका बेला खिचिएको बताएकी छन्। भिडियोमा आफू चालक नभई यात्रुको रूपमा रहेको र कारको झ्यालबाट बाहिर हेर्दै रमाइलो गरिरहेको सामान्य दृश्य मात्र देखिएको उनको भनाइ छ।
उनले उक्त भिडियो आफ्नो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित रहेको उल्लेख गर्दै यसलाई कुनै राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित नहुने बताएकी छन्।
सार्वजनिक पदमा रहेका व्यक्तिप्रति नागरिकको चासो स्वाभाविक रहेको स्वीकार गर्दै भट्टराईले सार्वजनिक जिम्मेवारीमा रहँदैमा व्यक्तिले आफ्नो निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार नगुमाउने उल्लेख गरेकी छन्।
स्पष्टीकरणमा उनले भिडियोमा देखिएको व्यवहार ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नदेखिन सक्ने स्वीकार गर्दै विगतका अनुभवबाट सिकेर भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्। साथै सबै नागरिकलाई ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेकी छन्।
भट्टराईले कुनै छोटो भिडियो वा सीमित दृश्यका आधारमा व्यक्तिको चरित्र, जिम्मेवारीबोध वा सार्वजनिक प्रतिबद्धताको मूल्याङ्कन गर्नु भन्दा उसको समग्र कार्यसम्पादन, व्यवहार र योगदानलाई हेर्नुपर्ने धारणा पनि राखेकी छन्।
पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा सवारी साधनको झ्यालबाट बाहिर निस्किएर यात्रा गरिरहेको देखिने भट्टराईको पुरानो भिडियो व्यापक रूपमा साझा हुँदै आएको छ। सोही भिडियोबारे बढ्दो चर्चा र आलोचनापछि उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी हुन्।

















प्रतिक्रिया