धुर्मुस–सुन्तलीको रंगशाला आकारमा आउँदै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, यस्तो चिसोमा ३ सय १३ जना कामदार


चितवन — पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको चौबीसकोठीबाट १० किलोमिटर पश्चिममा रामपुर बजार आउँछ । बजारबाट दाहिने मोडिएपछि डेढ किलोमिटर छेउ एउटा ठूलो भू–भागलाई नीलो टिनले घेराबन्दी गरिएको छ । त्यसभित्र ३ सय १३ जना कामदार अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित खेलपरिसर निर्माणमा तल्लीन छन् ।

उनीहरूको खटनपटनमा हास्य कलाकार तथा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) आफै हुन्छन् । फाउन्डेसनले जनस्तरबाट सहयोग संकलन गरी निर्माण गर्ने आँट गरेको करिब ३ अर्बको यो प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनाका कारण भरतपुर महानगरपालिका वडा १६ मा पर्ने यो क्षेत्र पर्यटकीय स्थलजस्तो बनेको छ ।

भित्र प्रवेश गरेलगत्तै बायाँपट्टि नमुना मैदान बनाइएको छ । कामचलाउ पिच बनेको छ । मैदानमा दुबो छैन । यहाँ च्यारिटी खेलको आयोजना गर्न सकिन्छ । यसले क्रिकेट माहोल बढाइरहेको छ भने मैदानको भाडा रंगशाला निर्माणका लागि संकलन हुनेछ । एउटा खेलका लागि १५ हजार ‘सहयोग’ निर्धारण गरिएको छ ।
प्रवेशद्वारको दायाँपट्टि गोदाम घर, खाजाघर, अस्थायी प्रहरी पोस्ट, स्वास्थ्य केन्द्रलगायत छन् । कामदारलाई खानाको व्यवस्था त्यही खाजाघरमा हुन्छ । रंगशाला अवलोकनका लागि जानेहरूले पनि खाजानास्ता गर्न पाउने सुविधा छ । त्यसको नाफा रंगशाला निर्माणमै खर्च गरिनेछ । निर्माणस्थलको सुरक्षाका लागि २४ घण्टा प्रहरी तैनाथ हुन्छन् । कामदार बिमारी भएमा चिकित्सकसहितको उपचारकक्ष निर्माणस्थलमै छ ।
नमुना मैदानसँगै दक्षिणतर्फ मुख्य रंगशाला हुनेछ । गहिरो स्थान (घोल) रहेकाले यहाँ पानीले काममा केही समस्या पारेको छ । मैदानमा पिच निर्माण र परिधिबाहिर ड्रेन निर्माण भइरहेको छ । ७७ वटा प्रारम्भिक पिल्लरका लागि फाउन्डेसन सकिन लागेको छ । मैदानमा बन्ने सातवटा पिचका लागि करिब डेढ मिटर खाल्डोबाट ढुंगाको सोलिङ लगाउन सुरु भएको छ । त्यसमाथि गिट्टीबालुवा र तनहुँको जामुनेबाट ल्याइएको कालोमाटो प्रयोग हुनेछ । पिच निर्माणमा नेपालका वरिष्ठ क्युरेटर कोमल पाण्डेले सुपरिवेक्षण गरिरहेका छन् । अस्वस्थताका कारण काठमाडौं फर्किएका पाण्डेको अनुपस्थितिमा सिसन मण्डलले पिच निर्माणको नेतृत्व गरिरहेका छन् । केही दिनमा विदेशी विज्ञको उपस्थितिमा पिचको काम सम्पन्न गरिने फाउन्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए ।

मुख्य रंगशालाको दक्षिणपट्टि बुलडोजर प्रयोग गरी जमिन सम्याइँदै छ । त्यहाँ पश्चिमपट्टि फुटबल मैदान र पूर्वपट्टि बहुउद्देश्यीय कभर्डहल बन्नेछन् । रंगशालाका लागि आवश्यक दुबो पनि उमारिइसकिएको छ । सम्बन्धित कामका प्राविधिक र सुपरभाइजरहरू साइकलबाटै यताउता गरिरहन्छन् । निर्माणमा नेपाली श्रमिकहरूकै प्रयोग गरिएको छ । सम्पूर्ण किसिमले व्यवस्थित निर्माण कार्यको नमुना त्यहाँ देख्न पाइन्छ ।
कट्टेलको भनाइ मान्ने हो भने रंगशालाको काम अवलोकन गर्न ७७ जिल्लाका मानिसहरू आउन थालेका छन् । दैनिक २ देखि ३ सय जनासम्मले निर्माणस्थल अवलोकन गर्ने गरेका छन् । कतिपयले आफूले सकेको आर्थिक सहयोग हस्तान्तरण गर्छन् । उनको अधिकांश समय व्यक्तिगत र सामूहिक भेटघाट अनि सहयोग दिन आएकाहरूलाई रंगशालाको महत्त्व र निर्माण प्रक्रियाबारे बेलीविस्तार लगाउँदैमा बित्छ । ‘सबैले भेटेर शुभकामना दिनुहुन्छ । कतिपयले मन ठूलो पारेर आर्थिक सहयोग पनि गर्नुहुन्छ,’ डेढ महिनायता निर्माण क्षेत्रमै खटिरहेका उनले भने, ‘हामीले जनस्तरबाटै बनाउने आँट गरिसकेपछि देशभरका दाजुभाइ दिदीबहिनीले हाम्रो प्रयासमा होस्टे गरिराख्नुभएको छ । हामीलाई सबैभन्दा ठूलो ऊर्जा नै यसैले दिएको छ ।’

रंगशाला निर्माणमा सबैको अपनत्व महसुस गराउने प्रयासमा विभिन्न नामका अभियान सञ्चालित छन् । ठूलो परियोजनाका लागि स–साना अभियानले राम्रो प्रभाव पार्न नसक्ने आलोचना नभएका होइनन् । रंगशाला निर्माणस्थलमा ठेलाको व्यापार, भ्यू टावर, निर्माणस्थल परिसरमा नमुना मैदान बनाएर च्यारिटी क्रिकेटलगायतका अभियान अहिले चलिरहेका छन् । फाउन्डेसनका अध्यक्ष कट्टेलले राम्रोसँग बुझेका छन् कि यस्ता अभियानले अर्बौंको परियोजनामा एकछेउ पनि हुन्न । यो सबै आफ्नोपन आभाष गराउने प्रयास हो ।

निर्माणस्थलको मुख्य गेटको पूर्वपट्टि भ्यू टावर निर्माण भएको छ । टावरबाट निर्माण क्षेत्र अवलोकन गर्न सकिन्छ । टावरबाट अवलोकन गर्न २० रुपैयाँ तिर्नुपर्छ । भ्यू टावरको फेदैमा एउटा ठेला छ । ठेलामा मौसमी फलफूल (हाल सुन्तला, बदाम) पानीलगायत खुद्रा सामान बिक्री हुन्छ । भ्यू टावरबाट दैनिक ५–७ हजार संकलन हुने गरेको छ । ठेलाबाट खर्च कटाएर दैनिक ३–४ हजार आम्दानी हुँदोरहेछ ।

‘ठेला चाहिँ रंगशाला निर्माण अभियानमा सुरुदेखि नै हामीसँगै रहनुभएका अर्जुन भुसालले राख्नुभएको हो । खर्च कटाएर सबै आम्दानी फाउन्डेसनलाई नै आउँछ,’ कट्टेलले भने, ‘मलाई राम्रोसँग थाहा छ कि ठेलापसलले रंगशाला बन्ने होइन । सबैले अपनत्व लिउन् भनेर त्यसो गरिएको हो । अर्को कुरा यो पसल यहाँको आवश्यकता पनि हो । किनभने यहा ७७ जिल्लाबाटै मानिसहहरू आउनुहुन्छ । भोकाउनुहुन्छ, तिर्खाउनुहुन्छ यसले आँत भर्ने काम गर्छ । दिनको ३–४ हजार रुपैयाँ संकलन हुँदा ४ जना कामदारको खर्च उठ्छ । यो बाध्यात्मक परिस्थिति पनि हो ।’

निर्माणस्थलको गेटबाट छिर्नेबित्तिकै एउटा सानो नमूना मैदान बनाइएको छ । एक महिनाअघि एउटा च्यारिटी खेलमार्फत त्यसको उद्घाटन गरिएको थियो । ‘हामीले क्रिकेट रंगशालाको निर्माणस्थलमा नमुना मैदान बनाएर माहोल बनाउने प्रयास गरेका हौं । यसबाहेक मैदानका लागि १५ हजार भाडा निर्धारण गरेका छौं । यो रंगशाला निर्माणकै आर्थिक अभियानको एउटा पक्ष हो,’ कट्टेलले सुनाए ।

यसअघि तीन नमुना बस्ती निर्माण गरी चर्चा कमाएका धुर्मुस–सुन्तली फाउन्डेसनले सुरुदेखि नै रंगशाला निर्माणमा जनस्तरको साथ अपेक्षित रहेको बताउँदै आएको छ । फाउन्डेसनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि श्रम सहयोगको अभ्यास थालनी पनि गरेको छ । फाउन्डेसनको अपिलमा अहिले पनि केही समूहले श्रमदान गरिरहेका छन् । ‘यहाँ बसेरै लामो समयदेखि निःशुल्क काम गरिरहनुभएका ४–५ जना हुनुहुन्छ । अरूहरू समूह–समूहमा आउनुहुन्छ । एक दिन काम गरेर फर्कनुहुन्छ,’ उनले भने ।

कट्टेलले भनेका छन् कि देशभरका सबैले आ–आफ्नो स्थानमा सहयोगको प्रयास गर्ने हो भने ३ अर्ब रकम ठूलो होइन । ‘हामीले ठूलो रकमको डर फैलाएका छौं तर देशभरका सबैले आफ्नो दायित्वबोध गर्ने हो भने यो ठूलो रकम होइन । हाम्रो रंगशालामा ७७ कक्ष हुनेछन्, त्यहीअनुसार प्रारम्भिक पिल्लरहरू छन्, कक्षको माथि ७७ कमलको फूलको पत्ता आकार हुनेछ । हरेक जिल्लाले एउटा–एउटा कक्ष बनाउने जिम्मा लिउँ, रंगशाला बनिहाल्छ,’ उनले थपे, ‘म सबै नेपालीलाई भन्न चाहन्छु कि आफूसँग जे छ त्यही योगदान गर्नुस् । खाद्य सामग्री दिनुस्, निर्माण सामग्री दिनुस् । केही दिन नसक्नेले आउनुस् सँगै मिलेर केही समय काम गरौं । राज्यको प्रतिष्ठासँग जोडिएको परियोजना मिलेर सफल पारौं ।’

अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशालाको अतिरिक्त यो परिसरभित्र दुईवटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडी पोखरी, ब्याडमिन्टन, टेनिस कोर्ट पनि बन्नेछन् । क्रिकेट रंगशालाको परिधि ४ सय ७१ मिटरको छ । केन्द्र भागबाट ७५ मिटरको हुनेछ । रंगशालामा सातवटा पिच बन्नेछन् । यहाँ अहिले पिच निर्माण भइरहेको छ । रंगशालाको ड्रेन निर्माण तथा प्रारम्भिक पिल्लरका लागि फाउन्डेसन हुँदै छ ।

कृषि तथा वन विश्वविद्यालयले २० विघा ६ कट्ठा क्षेत्रफल जग्गा फाउन्डेसनलाई उपलब्ध गराएपछि माघ १६ मा काठमाडौंमा रंगशाला निर्माणको घोषणा भएको थियो । त्यसको चार दिनपछि काम सुरु भयो । जेठ १५ मा केही स्थानीय आक्रमणमा उत्रिएपछि ठप्प भएको काम ३ महिनापछि भदौदेखि सुरु भएको हो । काँसघारी सम्याएर निर्माण कार्य सुरु भएको डेढ महिना भएको छ । क्रिकेट रंगशाला राष्ट्रिय आवश्यकता नै हो भन्ने बुझेर ‘नमुना नेपाल’ निर्माणको महाअभियान थाँती राखी रंगशाला निर्माण सुरु गरेको फाउन्डेसनले अवरोधबीच आफ्नो अभियान स्थगित गर्न सकेन ।

६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र त्यसको २ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । एक वर्ष बितिसकेको छ । असोजमा मात्र डीपीआर सार्वजनिक गरिएको थियो र मंसिरदेखि यहाँ युद्धस्तरमा काम सुरु भएको हो ।

रंगशाला निर्माणको घोषणापछि क्रिएटिभ आर्किटेक्ट डिजाइन प्रालिले अन्तर्राष्ट्रिय कन्सल्टेन्सीसँगको सहकार्यमा डीपीआर तयार गर्नुअघि नै साइट अफिस, कम्पाउन्ड, गोदामघर, कामदार आवास र मैदानलाई आवश्यक दुबो पनि हुर्काइसकिएको थियो । यो सबै जेठ १५ भन्दा अगाडिका प्रगति हुन् ।

‘हामीलाई प्राविधिक विषयमा काम गर्न निकै जटिल भएको थियो । दक्ष इन्जिनियर तथा विज्ञहरू सम्मिलित १७ जनाको प्राविधिक समिति छ । संसारभर रहेका नेपाली दक्ष जनशक्ति र विदेशीसँग समेत परामर्श गरी एउटा निष्कर्षमा पुग्न लाग्दा हामीमाथि ठूलो बज्रपात भयो । स्रोत व्यवस्थापनले मात्र हुने रहेनछ भन्ने बुझ्यौं  राजनीतिकरणको प्रयाससमेत गरियो,’ रंगशालामा अवरोध भएकोबारे कट्टेलले भने, ‘यति ठूलो अभियानको सुरुआत भइसकेको अवस्थामा पछि हट्न पनि कठिन भयो । अन्ततः सम्पूर्ण सुरक्षाको प्रत्याभूति भएपछि हामीले भदौदेखि पुनः काम सुरु गरेका हौं ।’

उनको अर्को चिन्ता भनेको घोषणा भएको रकम उपलब्ध नहुँदा काममा बाधा हुन लागेको हो । कुराकानीको सुरुमै आर्थिक कारोबारबारे प्रश्न नसोध्न आग्रह गर्दै उनले भने, ‘कति पैसा उठ्यो भनेर नसोध्नुस्, मैले एकाउन्टलाई सोधेको छैन । खर्च कति भयो भनेर पनि नसोध्नुस्, उधारोबाहेक केही छैन ।’

यसबाट महाअभियानका सारथि आर्थिक संकटमा छन् भनेर बुझ्न कठिन छैन । तर, संकल्प उनले मर्न दिएका छैनन् । उनी भनिरहन्छन्, ‘सुरु भइसक्यो । अब रंगशाला जसरी पनि बन्यो । मेरो मूल्य कति हो थाहा छैन, तर म आफू बेचिएर भए पनि रंगशाला बनाउँछु ।’ कान्तिपुर बाट