काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएपछि उनको बचाउमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उभिएका छन् । लामो समयसम्म मौन रहेका थापा र शर्माले भिजिट भिसाबारे समान धारणा सार्वजनिक गरेका छन् ।
झन्डै एक महिना लामो हिमाल आरोहणबाट फर्केपछि शर्माले मंगलबार संसद् परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अघिल्लो गृहमन्त्री (रवि लामिछाने) को विषयलाई जोडेर वर्तमान गृहमन्त्री लेखकलाई बदनाम गर्न खोजिएको उनले दाबी गरे । उनले भिजिट भिसामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहे पनि त्यसलाई अनावश्यक रूपमा उचालिएको बताए ।
शर्माले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेको प्रस्तावमा प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताएका छन् । उनले यो विषय विगतदेखि हुँदै आएको पाइएकाले गहिरोसँग अनुसन्धान हुनुपर्ने पनि बताए । उनले प्रधानमन्त्रीसम्म पनि अनुसन्धान तानिन सक्ने आशंका व्यक्त गरे ।
‘यसमा अनुसन्धान गर्दा कर्मचारी, मन्त्री, नेता, जो पनि हुन्छ । त्यसमा अनुसन्धान गरेर जानुपर्छ । अहिले गृहमन्त्रीको राजीनामाको विषयमा जोडिएर यो कुरा आइरहेको छ, यदि मन्त्रीमाथि पनि कुनै अनुसन्धान भइरहेको छ भने पदत्याग गर्नुपर्छ, तर यो अनुसन्धान अख्तियारले गरिरहेको छ, मन्त्रालयसँग आबद्ध कर्मचारीहरू छन्, अहिले कर्मचारीमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने उहाँले पद छाड्नुपर्छ,’ शर्माले भने ।
महामन्त्री शर्माले अहिले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको टिप्पणी गरे । उनले अहिले गृहमन्त्री लेखकमाथि कुनै उजुरी नै नपरेको दाबी गरे । शर्माले अख्तियारले गरेको छानबिनलाई प्रतिपक्षी दलले भरोसा गर्नुपर्ने पनि बताए । ‘भिजिट भिसा प्रकरण अख्तियारले नै बाहिर ल्याएको होइन र ? अख्तियारको अनुसन्धान पूरा हुन दिउँ न,’ उनले भने ।
यसअघि कांग्रेसका अर्का महामन्त्री थापाले पनि अनुसन्धान हुँदै जाँदा गृहमन्त्री लेखकसम्म पुगेमा तत्काल पदबाट राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका थिए । धरानमा आयोजित कांग्रेस भेलामा थापाले भिजिट भिसा प्रकरण निकै संवेदनशील रहेको उल्लेख गर्दै हाँगाजरा सबैको अनुसन्धान हुनुपर्ने बताएका थिए । थापाले तत्काल गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने भने बताएनन् । अनुसन्धान गर्दै जाँदा गृहमन्त्रीसम्म केस पुगेमा तत्काल मन्त्री लेखकले राजीनामा दिने आफू विश्वस्त रहेको थापाले बताएका थिए ।
कांग्रेसले गृहमन्त्री लेखकविरुद्ध अहिलेसम्म कहीँकतै उजुरी पनि नपरेको, कुनै पनि निकायमा मुद्दा नचलेको भन्दै पदबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको थियो । कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माको मत पनि एउटै देखिएको छ ।
प्रतिक्रिया