६ महिनाका लागि काठमाडौं नगर प्रमुख पाण्डे निलम्बित, बालेनलाई धक्का


काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई मंगलबार ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

गुरागाईंले गत चैत २१ गते आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई ६ महिनासम्मका लागि निलम्बन गरिएको महानगर स्रोतले जानकारी दिएको छ ।

पाण्डे काठमाडौंका मेयर बालेन्द्र साह बालेनका दाहिने हात मानिन्छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई काठमाडौं टावरको नक्सा पास प्रकरणमा भ्रष्टाचार गरेको भन्दै बालेनले निलम्बन गरेका थिए । त्यसपछि गुरागाई बिदामा बसेका थिए । उनी बिदामा बसेपछि काठमाडौं महानगरमा तलबभत्ता सबै रोकिएको थियो । त्यसपछि काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल, सबै वडाध्यक्ष र कर्मचारी मिलेर गुरागाईलाई कार्यालय प्रवेश गरेका थिए । त्यसैबेला उनलाई नगर प्रमुख पाण्डेले बल प्रयोग गरेर रोक्ने प्रयास गरेका थिए । महानगर प्रमुख प्रमुख प्रशासकीय अधिकृतअन्तर्गत सञ्चालित हुने व्यवस्था छ ।