Logo

राजदरबारको सुखसयल त्याग्दै फुच्चे छोरो बोकेर किन क्यानडा गए ह्यारी-मेघन?

१९ मे २०१८ – बेलायतको इतिहासमा एउटा यस्तो घटना भयो जसले बेलायत मात्र होइन, विश्वकै ध्यान खिच्यो।

सबैभन्दा पूरानो लोकतन्त्र बेलायतमा अहिले पनि राजसंस्था छ। त्यहाँ राजसंस्थामात्र छैन नागरिकमा त्यसप्रति आस्था र गौरव पनि छ।

दुई वर्षअघि त्यही राजसंस्थामा एक नयाँ सदस्य थपिँदै थिइन्। राजकुमार ह्यारीकी दुलही मेघन मर्केल बेलायती राजपरिवारमा भित्रिएकी अन्य युवतीजस्ती थिइनन्। उनी न गोरी थिइन्, न कुनै वैभवशाली घरानाकी छोरी, न बेलायती नागरिक नै। मध्यम परिवारका अमेरिकी बाबुआमाकी छोरी मेघन संघर्षबाट स्थापित कलाकार थिइन्, बिहे भएर पारपाचुके भइसकेकी ‘डिभोर्सी’ पनि।

बेलायती राजपरिवारकी बुहारीका रूपमा मेघनको आगमन अभूतपूर्व थियो। बेलायती लवजमा अंग्रेजी बोल्न पनि नजान्ने मेघनको बकिङहम दरबार यात्रालाई बेलायतीहरूले एउटा क्रान्तिको रूपमा स्वागत गरे। लाखौं मानिस ह्यारी र मेघनको विवाह समारोह हेर्न सडकमा ओइरिए।

९ जनवरी २०२०। बेलायती राजकुमार ह्यारीले घोषणा गरे- अब उनी राजकुमार रहने छैनन् बरू आफैं काम गरेर आत्मनिर्भर बन्नेछन्।

मेघन र छोरालाई लिएर क्यानडा जाने, उतै बस्ने उनको योजना थियो।

कहिलेकाहीँ मात्र बेलायत आउने उनको घोषणा महारानी एलिजावेथलाई जस्तै धेरैलाई अप्रत्यासित लाग्यो। तर ह्यारीले लामो समयसम्म सोचेर, विचार गरेर र मेघनसँग सल्लाह गरेर नै निर्णय लिएको बताए।

सोही निर्णयअनुसार दरबारको सुखसयल त्यागेर ह्यारी र मेघन अहिले क्यानडा पुगिसकेका छन्।

तर प्रश्न भने बाँकी नै छ- आखिर ह्यारीले सबथोक किन त्यागे?

यो प्रश्नको उत्तर जटिल छ। त्यसमा बेलायती राजपरिवारको अभिमान, पछिल्लो समय बेलायतमा फैलिएको गोरा राष्ट्रवादको लहर र ट्याबलोइड पत्रिकाको पत्रकारिता मिसिएको छ।

ह्यारी-मेघन मिलनको दुई वर्षअघि नै आप्रवासीलाई स्वागत गर्ने, अरूलाई सहजै स्वीकार्ने र दु:खमा परेकालाई शरण दिने मान्यताबाट बेलायतले ‘ब्याक गियर’ लगाइसकेको थियो।

बेलायतलाई युरोपेली युनियनबाट अलग गर्ने कि नगर्ने भन्नेबारे २३ जुन २०१६ मा भएको जनमत संग्रहमा धेरै बेलायतीहरूले आफू छुट्टै बस्ने विकल्प रोजेका थिए।

भित्रभित्रै गोरा श्रेष्ठताको अहमले गाँजेको बेलायती समाजले मेघनलाई गरेको स्वागत पानीको फोकाजस्तै थियो, केही समयपछि फुट्न थाल्यो। राजदरबारभित्रै र बाहिरबाट पनि उनको खिसीटिउरी हुन सुरू भयो।

छिसिक्क केही हुनासाथ तिललाई पहाड बनाउन पल्केका बेलायती ट्याबलोइडलाई मसला मिल्यो। उनीहरू मेघनको जति सकिन्छ हुर्मत लिन थाले।

धेरैका लागि शाही जोडी हुनु कुनै अलौकिक कथाजस्तो हो तर ह्यारी र मेघनका लागि त्यही कथाको पात्र हुन निकै कठिन थियो।

ट्याबलोइडहरूले विलियम्सकी श्रीमती केट र मेघनको तुलना गर्न थाले। जे कुरा गर्दा उनीहरूले केटको तारिफ गरेका थिए मेघनले त्यही गर्दा खेदो खने।

जति बेला केट गर्भवती थिइन्। पेटमा हात राखेको उनको तस्बिर छापेर द डेली मेलले शीर्षक राख्यो- अब धेरै समय छैन। राजपरिवारको जिम्मेवारी पनि बहन गर्दै राजकुमारी केटले आफ्नो बच्चा सम्हालिरहेकी छन्।

तर मेघनले गर्भवती हुँदा जब त्यसरी पेटमा हात राखिन्, डेली मेलले लेख्यो- मेघन किन त्यहाँबाट हात हटाउन सक्दिनन्?

देशव्यापी चर्चा भइरहेको यो प्रश्नको विज्ञहरूले उत्तर खोजिरहेका छन्- यो अभिमान हो कि घमन्ड हो, नखरा हो वा बच्चालाई समाउने नयाँ युगको नया प्रविधि?

बजफिड न्युजले केट र मर्केलको तुलना गरिएका २० वटा समाचारका शीर्षकबारे समाचार प्रकाशित गरेको छ।

सबैभन्दा उदेकलाग्दो त के छ भने एक्प्रेस भन्ने पत्रिकाले केट गर्भवती भएको बेला एभोकाडो खाँदा तारिफ गरेर समाचार लेखेको थियो। अनि मेघनबारे लेख्दा उसको शीर्षक थियो- मेघनले निकै मन पराउने एभोकाडो मानवअधिकार दुरूपयोग, खडेरीजस्तो शहस्राब्दी लज्जासँग जोडिन्छ।

केट र मेघनको तुलनामात्र होइन बेलायती प्रेसले मेघन शाही परिवारमा जोडिएपछि ह्यारी र उनका दाजु विलियम्सबीच फाटो आएको समाचार पनि छापे।

ट्याबलोइड त बाहिर छाप्थे तर ह्यारी र मेघनको मन कटक्क खाने व्यवहार त दरबारभित्रै हुन्थे। समाजका अन्य सदस्यहरूले पनि ‘टर्चर’ दिन्थे।

रानी एलिजावेथका एक भाइकी श्रीमतीले ‘क्विन्स क्रिसमस लञ्च’ पार्टीमा जाँदा कोटमा एउटा काली महिलाको प्रतीक लगाएकी थिइन्। उक्त पार्टीमा ह्यारी र मेघन पनि सहभागी थिए। मेघनले दरबारभित्र के भोगिरहेकी थिइन् भन्ने कुराको यो एउटा प्रतिनिधि घटना हो।

बेलायतीहरूले ह्यारी र मेघनलाई त उडाए उडाए, भर्खरै जन्मेका उनीहरूका छोरा आर्चीलाई पनि बाँकी राखेनन्।

बेलायती कमेडी राइटर, पत्रकार तथा डिजे ड्यानी बेकरले आर्चीबारे लेखेको ट्वीटले त जागिर नै छोड्नुपर्‍यो। पाँच लाख फलोअर्स भएका बेकरले मेघन सुत्केरी भएपछि ट्विटरमा एउटा तस्बिर राखे र लेखे- रोयल बेबी लिभ्स हस्पिटल।

उनले राखेको तस्बिरमा आर्ची होइन, एउटा लठ्ठी टेकेको चिम्पाञ्जीलाई महिला पुरूषले समातिरहेका थिए।

यही ट्विटका कारण बेलायती प्रसारण संस्थाको बिबिसी रेडियो-५ ले उनलाई जागिरबाट निकालिदियो। पछि उनले माफी मागे।

दरबार, समाज र मिडियाबाट ह्यारी र मेघन यति आजित थिए, उनीहरूलाई लाग्यो- ह्यारीकी आमा डायनाको जस्तो हालतमा नपुग्ने हो भने दरबार छोडेकै राम्रो। योभन्दा विकल्प छैन।

क्यानडा उड्नुअघि सोमबार लन्डनमा आयोजित एक कार्यक्रममा ह्यारीले भने- दरबार छोड्ने निर्णय गर्नु दु:खको कुरा हो। तर हामीसँग कुनै विकल्प थिएन।

युके-अफ्रिका इन्भेस्टमेन्ट समिट क्रममा ह्यारीले आफूले किन दरबार छोड्नुको कारण बताउन खोजे।

‘केही दिनयता तपाईंहरूले धेरै कुरा पढ्नु/सुन्नु भएको छ। मैले भन्न सक्नेजति सत्य म तपाईंहरूलाई मेरै मुखबाट सुनाउन चाहन्छु। राजकुमार, ड्युकका रूपमा होइन ह्यारीका रूपमा मात्र। त्यही ह्यारी जसलाई तपाईंहरूले ३५ वर्षदेखि हुर्किएको देख्नुभएको छ,’ उनले भने,’ बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो यो कहिल्यै बदलिने छैन।’

उनले आफू र मेघनको समान आस्थामा विश्वास गर्ने बताए।

‘म हुर्किँदा तपाईंहरूले धेरै नै सहयोग गर्नुभयो। मैले जिन्दगीमा आशा गरैझैं माया र खुसी पाएँ भन्ने ठानेर तपाईंहरूले मेघनलाई अँगालो फैलाएर स्वागत गर्नुभयो। र राजकुमारी डायनाको कान्छो छोराले विवाह गर्‍यो,’ उनले भने,’ पछिल्ला वर्षमा तपाईंहरूले यो पनि थाहा पाउनुभयो, मैले चुनेकी महिलाले पनि मेरैजस्तै आस्था र विश्वास राख्छिन्। उनी नै मैले माया गर्ने महिला हुन्।’

उनले विवाह गर्दा आफू निकै उत्साही र खुसी भएको भए पनि विस्तारै खुसीको त्यो पारो घट्न थालेको बताए।

‘बिहे हुँदा हामी उत्साहित थियौं र निकै आशावादी पनि। हामी यहाँ बेलायत र बेलायतीको सेवा गर्नका लागि थियौं। त्यही भएर अहिले यो सब छोड्न पर्दा म निकै दुखी छु,’ उनले भने।

बेलायतबाट प्रकाशित हुने ट्याबलोइडले मात्र होइन विश्वप्रतिष्ठित म्यागेजिन द इकोनोमिस्टले पनि यो घटनालाई ब्रेक्जिट (युरोपियन युनियनबाट बेलायत छुट्टिने) सँग तुलना गरेका छन्। यसलाई छोटकरीमा मेघनको नाम जोडेर ‘मेक्जिट’ लेखेका छन्। अर्थात् शाही पद त्याग्ने र क्यानडा गएर बस्ने निर्णय मेघनले गरेकी हुन् भनेर कतिपयले त यसलाई ‘हार्ड मेक्जिट’ पनि भनेका छन्।

ह्यारीले भने यो निर्णय मेघनले नभई आफूले गरेको बताएका छन्।

‘मेरी श्रीमती र मैले शाही पद छोड्ने निर्णय मैले गरेको हुँ। र मैले यसलाई हल्काफुल्का ढंगले गरेको होइन। कैयौं वर्षदेखिका चुनौती र कयौं कुराकानीपछि निर्णय लिइएको हो,’ उनले भने, ‘मलाई सधैं यही नै ठीक हो भन्ने लागेन तर मसँग योबाहेक अर्को कुनै विकल्प थिएन।’

सम्बोधनका क्रममा उनले आफ्नी दिवंगत आमालाई पनि सम्झिए।

सन् १९९७ मा उनकी आमा डायनालाई प्रेसले त्यसरी नै पछ्याएको थिए। पापाराजीबाट बच्न खोज्दा तीव्र गतिमा रहेको उनको कार दुर्घटनामा पर्‍यो र उनको निधन भयो।

‘म पनि त्यस्तै घटनाको शिकार हुन चाहन्नँ,’ ह्यारीले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्