Logo

फैलिदै कोरोना भाइरस : लियो ५६ जनाको ज्यान, सतर्कता अपनाउन चिकित्सकको सुझाव !

विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चीनमा मात्र ५६ पुगेको छ । शनिबार भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको पनि ज्यान गएको छ ।योसँगै आजसम्ममा कोरोना भाइरसकको संक्रमणबाट ज्याउन गुमाउनेको संख्या ५६ पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर संक्रमण फैलिएको ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा पूर्व सावधानी अपनाइएको जनाएको छ । चीनबाट शुरु भएको कोरना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै सरकारले जोखिम बढ्न नदिन सावधानी अपनाएको र सबैमा सचेत रहन समेत आग्रह गरेको छ ।

मन्त्रालयले काठमाडौंका सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाएको जनाएको छ । विदेशबाट आउने यात्रुको उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षण गरी पठाउने व्यवस्था मिलाएको छ ।

यदि कोही यात्रुमा संक्रमणको शंका लागेमा त्यहाँबाट सोझै अस्पताल पुर्‍याइने व्यवस्था मिलाएको छ । एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि विभिन्न चिनियाँ शहरहरूमा रहेका नेपालीहरू समेत स्वदेश फर्किन थालेका छन् । उनीहरुलाई विमानस्थलमा उच्च निगरानीमा राखिएको विमानस्थलस्थित हेल्थ डेस्कले जानकारी दिएको हो ।

गत शुक्रबार स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट हालै स्वदेश फर्केका एक नेपाली विद्यार्थीमा संक्रमण देखिएको बताएको थियो। तर ती व्यक्ति हाल निको भएर घर फर्किसकेको बताइएको छ। उनको परिचय भने खुलाइएको छैन। चीनको सांघाइबाट फर्केका अर्का एक जनामा पनि ‘कोरोना भाइरस’ संक्रमणको आशंका गरी उनलाई हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा छुट्टै कोठामा राखेर उपचार थालिएको छ ।

उनको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाइएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले जानकारी दिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार हाललाई सरकारले कोरोना भाइरस संक्रमितलाई राख्न भनेर तीन वटा अस्पताल तोकेको छ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको प्रवक्ता श्रेष्ठले बताए । ‘कोरोना भाइरस’को संक्रमण भएको व्यक्ति भेटिएमा एक्लै राखेर उपचार गर्नका लागि भने हाल १० वटा मात्रै कोठा रहेको उनले बताए । छ वटा कोठा टेकुमा र बाँकि चार पाटन अस्पतालमा तयार पारिएको छ । श्रेष्ठका अनुसार केरुङ नाकामा समेत सतर्कता बढाइएको छ ।

‘कोरोना भाइरस’को लक्षण

‘कोरोना भाइरस’को संक्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुक्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ।

कतिपय अवस्थामा यस्ता लक्षण नदेखिएका बिरामीमा पनि ‘कोरोना भाइरस’को संक्रमण हुन सक्ने विज्ञहरू बताउँछन्।

एडिनबरा विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउसका अनुसार अहिले देखिएका बिरामीमा रुघाखोकीको जस्तै लक्षण देखिन्छन् र त्यो चाहिँ चिन्ताको विषय हो।

कोरोना भाइरसका कारण ५६ को मृत्यु

चीनमा मात्र कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । हिजो सम्म ४३ जनाको ज्यान गएको चीनमा विगत २४ घण्टामा थप १५ जनाको ज्यान गएको चिनियाँ अधिकारीहरुले जनाएका छन्। घटनामा ६६८ जनामा थप संक्रमण भेटिएको चीनका स्वास्थ्य अधिकारीले जनाएका छन्।

अहिलेसम्म चीनमा २३ हजार ३ सय ४१ जना संक्रमीत रहेको र ती मध्ये २१ हजार ५ सय ५६ जना डाक्टरको प्रत्यक्ष निगरानीमा रहेको जनाइएको छ। ती मध्ये ३ सय २५ जना भने उपचारपछि घर फर्किसकेका छन्।

गत महिना चीनको वुहानमा फेला परेको नयाँ भाइरस कोरोनाले महामारीका रुपमा लिएपछि राष्ट्रपति सी चिङपिङ चिन्ता व्यक्त गरेका छन्।

उनले कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताउँदै रोकथामका लागि तत्काल पहल थाल्न सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिएका छन्।

नआत्तिन चिकित्सकहरुको सुझाव

कोरोना भाइरसको संक्रमण नेपालमा देखिएसँगै यसको त्रास बढेको छ । तर नेपालमा कोरोना भाइरसबाट डराउनु पर्ने अवस्था नरहेको चिकित्सकहरुले बताएका छन् ।

जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना भाइरसबारे डर मान्नुपर्ने अवस्था नरहेको बताउँदै उनले सामाजिक सञ्जालमा अपनाउनुपर्ने साबधानीबारे केही जानकारी उल्लेख लेखेका छन् ।

– यो एक प्रकारको रुघा हो, कोरोना संक्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन् ।

– सर्ने माध्यम पनि रुघा सरेजस्तै हो । खोक्दा, छिउं गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, मासु राम्रोसंग नपकाएर खाँदा आदि तरिकाबाट सर्न सक्छ ।

– यो रोगको सजिलै पत्ता लाग्ने ल्याब टेस्ट छैन, ठूलो प्रयोगशालामा श्वासप्रश्वास नलीको स्वाब पठाउनुपर्छ ।

– यसको कुनै उपचार छैन । ज्वरो, रुघा, खोकी, टाउको दुख्ने आदिको लाक्षणिक उपचार मात्र गर्ने हो । झोलिलो खाना खाएर अलग्गै कोठामा आराम गर्ने हो ।

– यो रोगको खोप छैन ।

– रोग बढेमा निमोनिया, श्वासप्रश्वास फेलर भएर बिरामीको मृत्यु हुन सक्छ ।

– यो रोग लाग्दैमा मृत्यु हुँदैन । यसको मृत्यु दर २-३ % मात्र छ । बालबालिका, बृद्धबृद्धा, क्यान्सर, एचआईभी, मुटुरोग / मधुमेह लगायतका रोग लागेका व्यक्ति जोखिम समुहमा पर्दछन ।

–चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जोखिम समूहमा पर्दछन् ।

– सकभर भिडभाडमा नजाने । जस्तै : अस्पताल / सपिंग मल / सिनेमा घर, सार्वजनिक यातायात आदि ठाउँमा नजाने ।

–हामीले आम रुपमा लगाउने मास्क यो रोगमा काम लाग्दैन । N 95 मास्क राम्रोसंग लगाउँदा रोकथाममा उपयोगी हुन्छ ।

– मुख्य कुरा त स्वास्थ्य प्रबर्धन हो । रोगसँग लड्ने क्षमता बढाउने हो भने डर मानुपर्दैन । सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

– रोग लागेर मरिन्छ कि भन्ने चिन्ता नगरौं । कोरोनाको बारे धेरै सोंचेर चिन्तित नबनौं । नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ । साबधानी अपनाउने हो, पेनिक बन्ने हैन ।

प्रतिक्रिया दिनुहोस्