काठमाडौं – शिक्षा क्षेत्रमा दुई दशकदेखि सक्रिय शिक्षासेवी तथा शैक्षिक उद्यमी गेन्द्र लामा युरोपमा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष लामाले ‘भिजनरी एजुकेशनल लिडरसिप अवार्ड २०२६’ प्राप्त गरेका हुन्।
कलेज रिडर्सको आयोजनामा नोभेम्बर ४ मा बेल्जियमको राजधानी ब्रसेल्सस्थित डबलट्री बाई हिल्टन ब्रसेल्स सिटीमा आयोजित ‘नेपाल एजुकेसन अवार्ड्स युरोप २०२६’ समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
शिक्षा क्षेत्रमा पुर्याएको योगदान, दूरदर्शी नेतृत्व, संस्थागत विकास, शैक्षिक उद्यमशीलता तथा विद्यार्थीको सर्वाङ्गीण विकासप्रतिको प्रतिबद्धताको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
मकवानपुरको राक्सिराङमा जन्मिएका लामाले करिब दुई दशकअघि सामान्य शिक्षकका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। निरन्तर मेहनत, संघर्ष र अनुभवका आधारमा उनी अहिले विभिन्न शैक्षिक संस्थाको नेतृत्व तहमा पुगेका छन्।
उनी मनास्लु टिम अफ इन्टरप्रेनर्स प्रालिका संस्थापक अध्यक्ष, मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष, मनास्लु वर्ल्ड स्कुलका प्रिन्सिपल तथा कुमारी आवासीय माध्यमिक विद्यालय (केईबीएस स्कुल/कलेज) का अध्यक्ष हुन्। उनको नेतृत्वसँग जोडिएका शैक्षिक संस्थामा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन्।
लामाले प्रमाणपत्रमुखी शिक्षाभन्दा ज्ञान, सीप र संस्कारमा आधारित जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिँदै आएका छन्। ‘एक विद्यार्थी, एक सीप’ अवधारणामार्फत विद्यार्थीको व्यावहारिक दक्षता, आत्मनिर्भरता, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा जोड दिँदै आएका उनी शिक्षालाई जीवनका चुनौती सामना गर्ने आधारका रूपमा लिन्छन्।
यसअघि लामाले सन् २०२५ अक्टोबर १४ मा बेलायतको लन्डनस्थित युनिभर्सिटी अफ ग्रिनविचमा आयोजित ‘नेपाल एजुकेसन अवार्ड्स यूके २०२५’ मा ‘बेस्ट एक्जिक्युटिभ चेयरम्यान अफ द इयर २०२५’ सम्मान प्राप्त गरेका थिए। सोही समारोहमा मनास्लु वर्ल्ड कलेजले ‘बेस्ट प्लस टु एकेडेमिक एक्सिलेन्स अवार्ड २०२५’ समेत प्राप्त गरेको थियो।
लगातार दोस्रो वर्ष युरोपमा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेपछि लामाले आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिभन्दा पनि शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, सहकर्मी र शुभेच्छुकहरूको सामूहिक मेहनतको प्रतिफलका रूपमा लिएका छन्।
आगामी दिनमा गुणस्तरीय, प्रविधिमैत्री, सीपमूलक तथा संस्कारयुक्त शिक्षाको प्रवर्द्धन गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा सक्रिय रहने उनको प्रतिबद्धता छ।

















प्रतिक्रिया