Logo

कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई जागिरबाट निकाल्यो जागृति एकेडेमीले

परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीले जागिरबाट निकालेको छ।

कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन्।

शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ का ९ जनाले कक्षाकोठामै ब्लेडले हात चिरेका हुन्। उक्त घटनाबारे शनिबार नयाँ पत्रिका दैनिकले पहिलोपटक समाचार लेखेको थियो।

विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले परीक्षा लिएकी थिइन्। परीक्षा लिनु अगाडिदेखि नै उनले कम नम्बर ल्याउने विद्यार्थीलाई हात चिर्नुपर्ने धम्की दिएकी थिइन्। उनले सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन्।

नतिजा सुनाएपछि बिहीबार कर्माचार्यले कम नम्बर ल्याउने विद्यार्थी आफैंले हात चिर्नुपर्ने भन्दै सजाय दिएकी हुन्। विद्यार्थीले सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चिरेका थिए। २० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीले शिक्षिका कर्माचार्यको दबाबपछि हात चिरेका हुन्।

जति कम नम्बर आएको छ उति धेरै हात (नाडिमा) चिरा पारिएको छ। घटना सार्वजनिक भएपछि एकेडेमीले शिक्षिका कर्माचार्यलाई अवकाश दिएको बताएको छ।

एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठले शनिबार सेतोपाटीसँग कुराकानी गर्दै शिक्षिका कर्माचार्यलाई शुक्रबारदेखि लागू हुने गरी अवकाश दिइएको बताए। उनी १२ बर्षदेखि एकेडेमीमा पढाउँदै आएकी थिइन्।

‘सामाजिक शिक्षा विषयको शिक्षक सीतालक्ष्मी कर्माचार्यले शारिरीक दण्ड दिएको विद्यार्थी तथा अभिभावकहरूबाट गुनासो आएकोले पुन: यसप्रकारको दण्ड दिने कार्यलाई निरूत्साहित गर्दै शिक्षकबाट दण्डरहित शिक्षणको सम्मान गर्दै निज शिक्षक सीतालक्ष्मी कर्माचार्यलाई २०७६/११/२३ गतेदेखि लागू हुने गरी यस विद्यालयको शिक्षक पदबाट अवकाश दिने निर्णय विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको छ,’ प्रिन्सिपल श्रेष्ठले विज्ञप्ति निकालेर भनेका छन्।

(हेर्नुस्: एकेडेमीले निकालेको विज्ञप्ति)

प्रिन्सिपलले निकालेको विज्ञप्तिमा कति जना विद्यार्थीलाई शिक्षिकाले कस्तो दण्ड दिएको भन्ने खुलाइएको छैन।

सेतोपाटीसँगको कुराकानीमा प्रिन्सिपल श्रेष्ठले ब्लेडले हात चिर्न लगाउनेजस्तो अमानविय क्रियाकलाव शिक्षिकाबाट भएकोले जागिरबाट निकालिएको बताए।

घटनाबारे प्रहरीलाई पनि जानकारी गराइएको उनको भनाइ छ। ‘प्रहरीहरू विद्यालयमा आएर घटनाबारे सोधखोज गर्नुभएको छ,’ उनले सेतोपाटीसँग भने, ‘गम्भीर गल्ती भएको छ, अब यस्तो हुन दिन्नौं।’ श्रेष्ठका अनुसार विद्यार्थीले कक्षाकोठामै हात चिरेका थिए। उक्त घटना आफूले ढिला थाहा पाएको पनि उनले बताए।

उनका अनुसार शिक्षिका कर्माचार्यले पनि गल्ती भएको स्वीकारेकी छन्।

प्रतिक्रिया दिनुहोस्