Logo

२४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु : कोरोनाभाइरसबाट इरानमा एकै दिन ५४ जनाको मृत्यु

इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ। इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन्।

पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको संख्या २९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले बताएका छन्।

उनले कोरोना सङ्क्रमित व्यक्तिहरुको संख्या निरन्तर बढेको बताउँदै पछिल्लो पटक ८८१ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिए। इरानमा अब सङ्क्रमित व्यक्तिको कूल संख्या ८ हजार ४२ पुगेको छ।

जोहानपोरले यसबीच दुई हजार ७३१ जना भने निको भएर घर फर्केको बताए।

कोरोनाको सङ्क्रमणबाट सर्वाधिक प्रभाव राजधानी तेहरानमा परेको छ जहाँ दुई हजार ११४ जना सङ्क्रमित भएका छन्।

क्यास्पियन सागरसँग सीमा जोडिएको लोकप्रिय पर्यटकीय क्षेत्र मजान्दारान प्रान्तमा ८८६ जना तथा क्वोममा ७५१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।

इरानले अझैसम्म आधिकारिक रुपमा मानिसहरुलाई क्वारेन्टाइनमा रहन बाध्य बनाएको छैन, तर अधिकारीहरूले मानिसहरूलाई अनावश्यक यात्रा नगर्न तथा यात्रा निरुत्साहित गर्ने उद्देश्यले होटलहरु बन्द गर्न आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्